‘सेवा नर्सिङ होम’को ताला खुलेन

Talabandiधनगढी, ५ भदौ । क्षतिपूर्तिको माग राखी कैलालीको अत्तरियास्थित सेवा नर्सिङ होममा लगाइएको तालाबन्दी नौ दिनसम्म पनि खुल्न सकेको छैन ।
ताला नखुल्दा विभिन्न ठाउँबाट उपचारका लागि आउने बिरामी समस्यमा परेका छन् । मंगलबार डोटीको दौड गाविसकी ३२ वर्षीया देवी खड्काको नर्सिङ होममा गर्भपतन गराउँदा पाठेघर झिक्नु परेको भन्दै आफन्तले क्षतिपूर्तिको माग गरेर तालाबन्दी गरेका हुन् ।
तीन छोरीकी आमा खड्काको चार महिना गर्भ रहेको थियो । गर्भ जाँच गराउँदा चिकित्सकले पुन: गर्भमा छोरी रहेको बताए पछि खड्काका आफन्तले २५ हजार दिएर नर्सिङ होममा गर्भपतन गराएका थिए ।
चार महिनाको गर्भपतन गर्न नर्सिङ होमका चिकित्सकले २५ हजार रुपियाँ लिएर गर्भपतन गराउँदा खड्काको पाठेघरमै टाउँको रहेपछि नेपालगञ्ज लगेर पाठेघर झिक्नु परेको थियो ।
पीडितका आफन्तले तत्काल पाँच लाख नगद दिनु पर्ने तथा नाबालक तीन छोरीको शिक्षादीक्षाको जिम्मा नर्सिङ होमले नै लिनुपर्ने माग गरेका छन् । नर्सिङ होमले पीडितका माग पूरा गर्न नसक्ने जनाएको छ ।

प्रतिक्रिया