सात जिल्लामा सिडिएमए थ्रीजी इन्टरनेट सेवा

ntcधनगढी, ३२ साउन । नेपाल टेलिकमको सिडिएमए प्रविधिमा आधारित द्रुत गतिको इन्टरनेट (सिडिएमए थ्रीजी) सेवा बिहीबारदेखि सुदूरपश्चिममा पनि विस्तार भएको छ ।
सेती र महाकाली अञ्चलका सात जिल्लामा सेवा शुरु गरिएको नेपाल टेलिकम क्षेत्रीय निर्देशक अमरनाथ झाले जानकारी दिए ।
धनगढीमा सिडिएमए प्रविधिको रिम कार्ड, युएसबी र डाटा प्याकेज एकमुष्ट बिक्री गरेको छ । सिडिएमए थ्रीजी इन्टरनेट सेवा सेती अञ्चलका कैलाली, डोटी र अछाम तथा महाकालीका कञ्चनपुर, बैतडी, डडेल्धुरा र दार्चुलामा सञ्चालनमा ल्याइएको छ ।
यसअघि बुधबारदेखि पूर्वाञ्चल विकास क्षेत्रको मेची र कोशी अञ्चलमा, पश्चिमाञ्चलको लुम्बिनी तथा मध्यपश्चिमाञ्चलको भेरी र राप्ती अञ्चलमा सो सेवा शुरु भएको छ ।
क्षेत्रीय निर्देशक झाले एक जिबी मेमोरीसहितको युएसबी, एक सय रुपियाँ टक टाइम भ्यालु र पाँच जिबी डाटा भएको रिमकार्ड दुई हजार तीन सय ५९ रुपियाँमा पाइने जानकारी दिए ।
सिडिएमए प्रविधिको थ्रीजी रिमकार्ड प्रयोग गर्ने उपभोक्ताले सिडिएमए थ्रीजी सेवा पुगेका ४६ वटा जिल्लामा भ्वाइस मेल सुविधाका साथै तीन दशमलव एक एमबिपिएस डाउनलोड क्षमतामा ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोग गर्नसक्ने क्षेत्रीय प्रमुख झाले जानकारी दिए ।
सिडिएमए थ्रीजी सेवा नपुगेका जिल्लामा पनि यो सेवा प्रयोग गर्न सकिने जनाइएको छ । टेलिकमले सेवालाई स्काई प्रोब्राण्डमा विक्री वितरण गरिरहेको छ ।

प्रतिक्रिया