बैद्यजीहरुको माग जायज छैन : गच्छेदार

Vijaya gachhedar 3सप्तरी, २४ साउन । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छेदारले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाका कारण निर्वाचनमा कुनै अवरोध सृजना नहुँने दोहर्‍याएका छन् ।
राजविराजमा आज (बिहीबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष गच्छेदारले मोहन वैद्य नेतृत्वको समूह सहमतिमा नआएपनि मंसिर–४ गतेको निर्वाचन नरोकिने दावी गरे ।
‘राजनीतिक समितिले हदैसम्मको लचकता अपनाउँछ,’ उनले भने, ‘उनीहरु सहमतिमा नआए पनि चुनाव सम्पन्न हुन्छ ।’
उनले चुनावका लागि गठन गरिएको गैर–राजनीतिक सरकार विघठन नहुँने बताए । ‘राजनीतिक समिति खारेज गर्नु पर्ने बैद्यजीहरुको माग जायज छैन,’ उनले भने, ‘८० प्रतिशत् प्रतिनिधित्व गर्ने ४ दलीय गठबन्धन विघटन हुँदैन ।’
अध्यक्ष गच्छेदारले १० वर्ष भित्र फोरम लोकतान्त्रिक पहिलो राजनीतिक शक्ति वन्ने बताए । उनले एकीकृत माओवादी, कांग्रेस र एमालेले विगारेको मुलुकलाई आफू प्रधानमन्त्री भएपछि सपार्ने बताए ।
तपाई गृहमन्त्री हुँदा भ्रष्टाचार बढेको थियो नी ? भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा गच्छेदारले भने, ‘मेरो कार्यकालमा जस्तो स्वच्छ प्रहरी प्रशासन कुनै सरकारका पालामा पनि थिएन ।’
गच्छेदारले आफू उप–प्रधानमन्त्री भएकै वेला मधेसीवादी नेताहरुले १४ वटा मन्त्रालयको जिम्मेवारी पाएको दावी गरे । ‘त्यति धेरै मन्त्रालय विगतमा मधेसीवादी नेताहरुले न पाएका थिए । न अब पाउने छन् ।’ अध्यक्ष गच्छेदारले आफ्नै कारण मधेसीवादी धेरै नेताहरु मन्त्री बन्ने अवसर पाएको दावी गरे ।

प्रतिक्रिया