ऐनमा कसैको अनुहार चहकिलो देखिएन

Shankar-Koiralaकाठमाडौं, २१ साउन । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले वित्तीय प्रणालीको ऐनामा कसैको अनुहार चहकिलो देखिन नसकेको बताएका छन् ।
महालेखापरीक्षकको पचासौं वार्षिक प्रतिवेदन–२०६९ कार्यान्वन गर्न गठित समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री कोइरालाले एकरुपियाँ र एकअर्ब रुपियाँको बेरुजु आफ्नो दृष्टिमा समान भएको बताए ।
‘करदाताहरुलाई आफूले तिरेको पैसाबारे जानकारी राख्ने हक छ,’ उनले भने, ‘त्यसैले बेरुजु फछ्यौट गर्ने कार्ययोजना भदौ पहिलो हप्ताभित्र तयार गर्नुस् ।’
मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै मन्त्री कोइरालाले भने, ‘संसदको अधिकार हनन् नगर्ने हैसियतमा यो समितिले वित्तीय व्यवस्थापनमा सहकर्ताको भूमिका निर्वाह गर्नेछ ।’
उनले अर्थ मन्त्रालयले प्रक्रियागत सुधार अन्तर्गत साउन–१ गते बजेटको अख्तियारी, १५ गतेभित्र स्वीकृति, मंसिरसम्म ठेक्काको काम, ६० लाखभन्दा माथिको काममा ई–बिडिङ गर्ने जस्ता सुधारका काम शुरु गरिसकेको बताए ।
समितिका सदस्य तथा सिंचाई मन्त्री उमाकान्त झाले एकल लेखापरीक्षणपछि वित्तीय व्यवस्थापनमा सुधारको संकेत देखिएकाले आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी बनाउन आग्रह गरे ।
समिति सदस्य तथा कृषि मन्त्री टेकबहादुर थापाले खाल्डो खन्ने र पुर्ने जस्ता कामलाई सरकारी रुजु र बेरुजुबाट मुक्त पार्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया