तीनदिन पछि अरनिको राजमार्ग सुचारु

Arniko Rajmargaदोलखा, १५ साउन । तीन दिनदेखि यातायात मजदुरहरुले आह्वान गरेको अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक सडक खण्डको बन्द खुलेको छ । आज (मंगलबार) देखि बन्द खुलेपछि राजधानी पूर्वका चार जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ ।
सिन्धुपाल्चोकका यातायात मजदुर संगठन, राजनीतिक दलका प्रतिनिधि र सरकारी अधिकारीहरुबीच सोमबार भएको वार्तामा पक्राउ परेका कन्टेनर चालकलाई छुटाउने विषयमा पुन: वार्ता गर्ने सहमतिसँगै मजदुरहरुले बन्द फिर्ता लिएका हुन् ।
बन्द खुलेपछि काभ्रे हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओखलढुंगा जाने सवारी साधनहरु सञ्चालनमा आएको अरनिको यातायात सेवा समितिले जनाएको छ ।
बन्दका क्रममा २३ जना मजदुरहरुलाई प्रहरीले नि:शर्त छाड्ने सहमति भएको समितिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले बताए ।
हात्तीको दाह्रासहित पक्राउ परेका चिनियाँ नागरिकलाई छाडेर चालक सुरजकुमार श्रेष्ठलाई पक्राउ गरी मुद्दा चलाएको विरोधमा मजदुरहरु आन्दोलित भएका हुन् । राष्ट्रिय निकुञ्ज ऐनअन्तर्गत मुद्दा चलाइएका श्रेष्ठ अहिले पुर्पक्षमा दोलखा कारागारमा थुनामा छन् ।
चीनको बेइजीङ टाइम प्रोडक्सन कम्पनीले निर्माण गर्न लागेको ‘अप इन द वाइन्ड’ नामक चलचित्रको सुटिङ सकेर फर्कने क्रममा गत बैशाख–२० गते ना ३ ख ७४५६ नम्बरको कन्टेनरमा हात्तीको दाह्रा बरामद भएको थियो । (फाईल तस्विर)

प्रतिक्रिया