खरिढुङ्गाको नयाँ चिनारी तरकारी

दोलखा, ६ साउन । दोलखा जिल्लामा विक्रम संवत २०३५ सालदेखि खरीढुङगाको उद्योग बन्द भए पछि स्थानीयको दैनिकी फेरिएको छ ।
खानी १४ वर्षदेखि बन्द अबस्थामा छ । हाल आएर त्यहाँका स्थानीयले आफ्नो दैनिकी परिवर्तन गरी तरकारी खेतीमा लागेका छन् ।
‘दौडेर निगाले हाटमा जान्थ्यौं । साथीले लगिहाल्ला कि भन्ने लागेर तीनचार दिनलाई हुने तरकारी एकैदिन किनेर ल्याँउथ्यौं,’ लाँकुरीडाँडा गाविस खरिढुङगाकी फूलमाया श्रेष्ठ विगत सुनाईन् । उनको यो विगत एकादेशको कथा भएको छ ।
अहिले उनी वर्षमा तरकारी वेचेरै एकलाख रुपियाँसम्म कमाउँ छिन । तरकारी नै उनको परिवारको खर्च चलाउने मूख्य स्रोत हो ।
सडक छेउको श्रेष्ठको घरमा गाडीले धुलो र धुँवा मात्रै दिएको थियो । बसका यात्रुहरु उजाड डाँडा देखेर गाउँका मानिसहरु के खाएर बाँच्छन होला भनेर भन्थे ।
यस्तो सुन्नुपर्दा फूलमायालाई नरमाईलो लाग्थ्यो । घरमा श्रीमानले कमाएर ल्याए मात्रै घरव्यवहार सञ्चालन गर्नुपर्ने अवस्था थियो । ‘यस्तो होला भन्ने त आश नै थिएन,’ उनले भनिन् । उनको घरवरपर काउली/बन्दा लगायतका तरकारीको हरियाली छ ।
विगत ५ वर्षदेखि फूलमायाको गाउँमा व्यवसायिक तरकारी खेती गर्न थालिएको हो । अहिले गाउँबाट मात्रै वर्षमा झण्डै १ करोड रुपियाँ बराबरको तरकारी काठमाडौ निर्यात हुन्छ ।
श्यामलाल तामाङ सवारी चलाउने काम गर्थे । अहिले त्यो पेशा छोडेर गाउँमा तरकारी खेती गर्न थालेका छन् । ‘वर्षमा झण्डै ५० हजार रुपियाँ नाफा आँउछ,’ उनले भने ।
गाउँमा प्रत्येक घरले झण्डै १ लाख रुपियाँको तरकारी वेचेर कमाँउ छन् तामाङ भन्छन ।
देशबहादुर श्रेष्ठ गाँउमा भईरहेको तरकारी खेतीका अभियन्ता हुन् । २०३६ सालमा १७ वर्षको उमेरमा भागेर भारतको हिमाञ्चल पुगेका उनले तरकारी खेती गर्ने सिप त्यतै सिकेका हुन् ।

प्रतिक्रिया