पाँच प्रतिशतको आर्थिक बृद्धिदर पुरा हुँदैन

Budget 4 kharba 39 arbaकाठमाडौं, ३१ असार । पूर्व अर्थमन्त्री रामशरण महतले अर्थतन्त्रलाई समुन्नत बनाउने कार्यक्रम बजेटमा नभएको बताएका छन् ।
काठमाडौंमा आज (सोमबार) आयोजित कार्यक्रममा महतले उत्पादकत्वमा सरकारी क्रियाशीलता बढाउने कार्यक्रम र योजना बजेटमा नरहेको बताए ।
‘५ दशमलब ५ प्रतिशतको आर्थिक बृद्धि दरको अनुमान कुनै हालतमा पनि प्राप्त गर्न सकिँदैन,’ उनले भने, ‘अर्थतन्त्रमा लामो समयदेखि रहँदै आएको बृद्धि दरको समस्या समाधानको उपाय बजेटमा छैन ।’
उनले बजेटलाई नियमित र रिजनेवल भएको टिप्पणी गरे । नेपालमा लामो समयपछि पूर्ण बजेट आउनु नै बजेटको सकारात्मक पक्ष भएको महतको भनाई छ ।
एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नयाँ बजेट ल्याउने क्रममा अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई दलहरुले कुनै दवाव नदिएको दाबी गरेका छन् । पाण्डेले अर्थमन्त्रीको आफूहरुले हात नबाँधेको बताए ।
‘दलहरुले अर्थमन्त्रीको हात बाँधेर बजेट ल्याउन दिएको आरोप सरासर गलत हो,’ उनले भने, ‘बजेटका बारेमा दलहरुले सरकारलाई जम्मा एकपटक मात्रै सल्लह दिएको छ ।’
पूर्व अर्थमन्त्री पाण्डेले बजेटमा मूल्य बृद्धि रोक्ने कुनै ठोस उपाय नगरिएको आरोप लगाए ।
नियमित बजेट नै कार्यान्वयन हुन समस्या परिरहेका बेला ठूलो आकारमा ल्याईएर चुनावी बजेट कार्यान्वयनमा समस्या उत्पन्न हुने उनको भनाई छ ।
पूर्व अर्थमन्त्री वर्षामान पुनले ठूलो आकारको बजेट आएकाले कार्यान्वयनमा समस्या आउन आशंका ब्यक्त गरे । ‘योजना आयोगले दिएको सिलिङ्भित्रबाटै आएको भए बजेट राम्रो हुने थियो,’ उनले भने, ‘यो बजेटले महंगी बढाउँछ ।’
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रवीन्द्रकुमार शाक्यले सरकारले सिलिङ् भन्दा बढिको बजेट नआएको बताए । निर्वाचनको खर्च जोडेर ५ खर्ब २० अर्बको सिलिङ् आयोगले दिएको बताए ।
अर्थविद् विश्वम्भर प्याकुरेलले ठूलो आकारको बजेट भएकाले मुद्रा स्फिति बढ्ने आशंका ब्यक्त गरे ।

प्रतिक्रिया