पशुपालक कृषकहरुलाई तालिम

रोल्पा, २५ असार । स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेड उपशाखा कार्यालय लिबाङले रोल्पाका पशुपालक किसानहरुलाई पशु विकास सम्बन्धी २ दिने पशुपालन तालिम दिएको छ । जिल्लाका पशुपालक किसानहरुको पशुपालन व्यवसायमा टेवा पुर्‍याई व्यवसायिक बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिम मंगलवार लिबाङमा सम्पन्न भएको हो ।
तालिममा जिल्लाका खुमेल, ह्वामा, कोटगाउ, जंकोट र लिबाङ गाविसका जम्मा ३० जना पशुपालक किसानहरुको सहभागिता रहेको थियो । तालिममा पशुपालक किसानहरुलाई उन्नत जातको पशु छनोट, पशुका लागि दाना बनाउने तरिका, पशुका लागि अत्यावश्यक घासको छनोट तथा घासको खेती, पशुमा लाग्ने विभिन्न प्रकारका रोगबाट बच्ने उपाय एवं रोग लागिसकेपछि अपनाउनुपर्ने उपायमा प्रशिक्षण दिइएको थियो ।
दुई दिनसम्म चलेको तालिमको प्रशिक्षण जिल्ला पशु सेवा कार्यालय रोल्पाका अनन्तप्रसाद रेग्मी र शोभाकर खनालले दिएका थिए । पशुपालनका लागि यो तालिमले थप हौसला प्रदान गरेको हुदा आफ्नो व्यवसायलाई थप व्यवस्थित बनाउने तालिममा सहभागीहरुले बताए ।
जिल्ला पशुपालक किसानहरुलाई व्यवसायिक रुपमा पशुपालनमा थप सहयोग गरी बेरोजगार रहेकाहरुलाई स्वरोजगार बनाउन तालिम सञ्चालन गरेको स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेड उपशाखा कार्यालय लिबाङका शाखा प्रबन्धक रामकाजी पुजुले बताएका छन् ।

प्रतिक्रिया