लुम्बिनीमा सुरक्षा सतर्कता उच्च

Lumbiniभैरहवा, २५ असार । शान्तिका प्रतिक बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षाका लागि प्रहरीले उच्च सर्तकता अपनाएको छ ।
बुद्धले ज्ञानप्राप्त गरेको ठाउँ छिमेकी मुलुक भारतको बोधगयामा शनिवार अज्ञात समूहले श्रृंखलाबद्ध बम विस्फोट गरेपछि लुम्बिनीमा सुरक्षा संयन्त्रले सर्तकता अपनाएको हो ।
लुम्बिनीको सुरक्षाका लागि नेपाल प्रहरीले प्रहरी निरीक्षकको कमाण्डमा पहिलेदेखि नै इलका प्रहरी कार्यलय लुम्बिनी मार्फत सुरक्षा दिँदै आएकोमा आइतबार राति देखि थप बल पठाएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रमुख हरिबहादुर पालले बताए ।
‘क्षेत्रको निर्देशन अनुसार प्रहरी निरीक्षकको कमाण्डमा थप ३० जना प्रहरी आइतबार राति नै लुम्बिनी गइसकेको छ,’ उनले भने, ‘अहिले लुम्बिनीमा सुरक्षा सर्तकता एकदमै उच्च छ । ६ वटा मुख्य प्रवेशद्धारमा चेकजाँचलाई तिब्रता दिइएको छ ।’
यसैगरी, लुम्बिनीकै सुरक्षाका लागि शसस्त्र प्रहरीबलले पडरिया गाविसमा रहेको शसस्त्र प्रहरी मार्फत सुरक्षा दिइरहेको सीमा सुरक्षा बल रुपन्देहीका डिएसपी वीरेन्द्रबहादुर ऐरले बताए ।
शसस्त्र प्रहरी नायब उपरीक्षक टोपबहादुर डाँगीको नेतृत्वमा ७० जनाको शसस्त्र प्रहरी बल लुम्बिनीकै सुरक्षाका लागि खटिएको छ । महिलवारबाट छिर्ने ५ नम्बर गेट र मायादेवी मन्दिरको मुख्य प्रवेशद्वारमा मेटल डिटेक्टरबाट चेकजाच गर्ने गरिएको छ ।
मोबाइल गस्ती मार्फत वसपार्क, लुम्बिनी आसपासको क्षेत्र चारैतर्फ सुरक्षा सतर्कता बढाईएको प्रहरीले जनाएको छ ।
छिमेकी मुलुकमा भएको घटनालाई गम्भीरतापूर्वक लिदै सुरक्षा संयन्त्रलाई चनाखो र सर्तक हुन सुरक्षा संयन्त्रलाई आग्रह गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले जनाए ।
लुम्बिनीमा अहिले नेपाल प्रहरीका दुई प्रहरी निरीक्षकसहित ७०, शसस्त्र प्रहरीका डिएसपीको कमाण्डमा ७०, ग्रुप फोरको ८ र लुम्बिनी विकास कोषको सुरक्षा गार्ड ४२ जना रहेका छन् ।
सुरक्षाकै विषयलाई लिएर आइतबार विकास कोषमा सुरक्षा संयन्त्र र कोषका पदाधिकारीबीच बैठक समेत बसेको थियो । सुरक्षाको दृष्टिले लुम्बिनीमा अहिले कुनै कमी नभएको विकास कोषले जनाएको छ । मन्दिर प्रवेशको ६ ठाउमा अहिले चेकजाच गर्ने गरिएको तथा शंकास्पद व्यक्तिहरु माथि निगरानी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया