नीजि प्रयोजनमा सरकारी बजेटको प्रयोग

भक्तपुर, १९ असार । स्थानीय शान्ति समिति भक्तपुरको नेतृत्वमा रहेका पुन: निर्माण तथा पुन:स्थापना कार्यक्रमहरु समयममा बजेट निकासा नहुँदा र राजनीतिक दवावमा तोकिएको समयमा काम हुन नसक्दा सबै योजनाहरु प्रभावित भएका छन् ।
योजनास्थल छनोट गर्न ढिलाई तथा काम सुस्तगतिमा अगाडि बढेका कारण तोकिएको समयमा योजना सम्पन्न हुन नसकेको स्थानीयको गुनासो छ । शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत संचालित बिभिन्न दश योजनाहरु यो आर्थिक वर्ष भित्र नसकिने देखिएका हुन् ।
शान्ति समितिका काम अनुगमनका क्रममा अधिकांश योजनाहरु अधुरा रहेको पाईएको टोलीका एकसदस्यले जानकारी दिए । पहुँचका आधारमा योजना छनोट भएका र योजनाको कार्यान्वयन प्रभावकारी नभएको अनुगमन टोलीको भनाई छ ।
पुन: निर्माण तथा पुन:स्थापना कार्यक्रम अन्तर्गत भक्तपुर नगरपालिका अन्तर्गत सृजनानगरको बाटो मर्मत द्वन्द्व प्रभावित क्षेत्रमा नभई पहुँचका आधारमा स्थानीयले प्लानिङ गरेको क्षेत्रमा रकम उपलब्ध गराईएको टोलीले जनाएको छ । टोलीले यस्ता उदाहरण प्रसस्त भेटेको छ ।
टोलीले दुवाकोट गाविस भवन, दधिकोट गाबिस भवन, महेन्द्रग्राम मावि सुडाल र शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत सृजना नगरबाटो मर्मत, शहीद स्मृति भवन दधिकोट, भक्तपुर अस्पतालमा निर्मित शान्ति पार्कलगायतका योजनाहरुको अनुगमन गरेको छ ।

प्रतिक्रिया