क्यानभासमा काठमान्डु

एक्काइसौँ शताब्दीमा कलाको कुनै पनि विधा एक्लो र भिन्न छैन । कलाका यी सबै विधालाई एकै थलोमा ल्याउनुपर्छ भन्ने उद्देश्यले सर्वनाम थिएटरले नाटक मञ्चनको अलावा ग्यालरीको स्थापना पनि गरी कलाको विकास र कलाकारलाई प्रोत्साहन गर्न ललितकला क्याम्पसका चित्रकला विधातर्फका तीन मेधावी विद्यार्थी महेश बस्ताकोटी, रीति महर्जन र विनिता बुद्धाचार्यलाई सर्वनाम कला प्रोत्साहन पुरस्कारले सम्मानित गर्दै चित्रकला प्रदर्शनी पनि गरेको छ ।
युवा मष्तिष्कमा परेको गहिरो छापले मान्छेलाई जीवनमा बारम्बार घोचिरहन्छ । त्यसको प्रभाव स्वरूप यी तीन मेधावी चित्रकार आफ्ना मनभित्रका उकुसमुकुस पोखिरहेका छन् चित्रमा । मान्छेले चाहना पुरा हुन सकेन भने उसको मष्तिष्क रुग्ण बन्दै जान्छ । चिन्ता बढ्छ र मनलाई विचलित बनाइदिन्छ । मान्छेलाई निराश बनाइदिन्छ र उत्साहको बिरुवालाई मारिदिन्छ । फलस्वरूप: श्रेष्ठत्व प्राप्तिका लागि कर्म गर्न थाल्छ । मान्छे चाहना र भावना बिचको अनौठो द्वन्द्वमा फस्दै जान्छ र आफूमा दमित रूपमा रहेका भावना, गुम्फन र अनुभूतिलाई उदात्तीकृत गर्न चाहन्छ । फलस्वरूप: जीवनमा दु:ख नै पाए पनि आत्मसुखको लागि विचारहरू माथि घोत्लिरहन्छ एउटा मान्छे । जसले गर्दा कलाको सृजना हुन पुग्छ । यसै भावनालाई दृष्यात्मक रूपमा क्यानभासमा प्रस्तुत गर्दा एउटा चित्र सृजना हुन्छ । जसलाई एउटा कलाकारले आफ्नो भावना, अनुभूति र विचारलाई रंगमा घोली क्यानभासमा उतारेको हुन्छ । ग्यालरीमा झुण्डिएका महेश बस्ताकोटीका चित्रहरूले युवाका गुम्फन, काठमान्डुका चिसा र ओसिला ढुसी गन्हाउने गल्ली, देशले भोगेको पीडा र समय–शीत्कार बोलेका छन् ।
सर्वनाम थिएटरमा अहिले महेश बस्ताकोटीको ‘समय’ शीर्षकको एकल कला प्रदर्शनी भइरहेको छ । जुन असार १९ गते सम्म चल्नेछ ।
आफ्नो मनभित्र रहेको विचारहरूलाई दृष्यात्मक तरिकाले प्रस्तुत गर्न विगत ५ वर्ष देखि निरन्तर कला सम्बन्धी अध्ययन गर्दै आएका बस्ताकोटी निरन्तर रूपमा क्रियाशील भएर कलाकर्ममा लागिरहेका छन् । जसले बिस्तारै आफ्नो मौलिक पहिचान बनाउँदै छन् । नेपाली कलाको क्षेत्रमा क्रियाशील भएर कला सृजनामा लाग्ने थोरै युवा कलाकारहमध्ये यिनको नाम छुटाउन मिल्दैन ।
सबैले देखेको र भोगेको विषयवस्तु एउटै भए पनि त्यसलाई बझ्ने र फेरि प्रस्तुत गर्ने तरिका फरक हुन्छ । यसै क्रममा समाजका गहन विषयवस्तुलाई सुक्ष्म तरिकाले अध्ययन गरी समाजको यर्थाथलाई यर्थाथवादी शैलीमा उर्ताने र देशको राजनैतिक अस्थिरताले सामाजिक जीवनको भोगाइमा पर्ने प्रभाव, परिणाम र पीडालाई कलामा लेखेका छन् । नेपालको राजनैतिक अस्थिरताले नेपाली समाजमा कति दयनीय जीवन–भोगाइका आयाम पार गर्नुपर्छ भन्ने कुराको बोध कलामा देखाईएको छ । समसामयिक विषयवस्तुसँग मित्रता गाँस्दै त्यसबाट अर्थ खोज्ने चेष्टा गरेका यी कलाकारले चित्रको पृष्ठभूमिमा बिम्बको प्रयोग गरी शीर्षकलाई सार्थक बनाईदिएका छन् । कलाकारले व्यक्तिगत भावनालाई भन्दा पनि नेपाली समाजलाई सरल र कलात्मक तरिकाले पस्केका छन् । कलाको व्यवसायीकरण भएको समयमा पनि उनका कला कुनै ग्राहकलाई रिझाउनको लागि भन्दा पनि एउटा कलाकारको धर्मलाई सही तरिकाले निभाउनको लागि रचिएको पाइन्छ । यसले समाजलाई केही सन्देश दिन सक्छ । परम्परागत र सौन्दर्यमुखी विषयवस्तुमाथि बनाइएका चित्रको प्रदर्शनीमा पुगेको जो कसैलाई पनि यी कला गहन लाग्ने छन् । देशको राजनैतिक र सामाजिक विषयवस्तुमाथि ध्यान दिने जो कोहीले पनि यी कलाबाट आनन्दानुभूति गर्नेछ र त्यस काल खण्डलाई दृष्यात्मक तरिकाले बुझ्नेछ ।
‘समय’ शीर्षकमा उनले १० चित्र र २ प्रतिस्थापन कलालाई प्रदर्शन गरेका छन् । जुन कलाकारको दोस्रो एकल प्रदर्शनी हो । वि.सं. ०६२ मा पहिलो कला प्रदर्शनी गरी कलाक्षेत्रमा थप हौसिएका यी कलाकारले विभिन्न कलासम्बन्धि कार्यशाला र विभिन्न प्रतियोगिता भाग लिइ पुरस्कृत पनि भएका छन् । यसक्रममा कलाक्षेत्रमा नयाँ प्रयोग स्वरूप प्रवेश गरेको पर्फमेन्स कलालाई प्रदर्शनी उद्घाटन गर्ने क्रममा प्रस्तुत गरी सबैको ध्यानाकर्षण गरेका थिए । उनको यस प्रकारको कलाप्रतिको सक्रियताले नेपाली कलामा केहि योगदान पक्कै दिनेछ ।

प्रतिक्रिया