एब्स्ट्रयाक्ट शान्ति

Narendraबुद्धपूर्णिमाको मध्यरातमा
विलय भयो जून
शान्तिको एब्स्ट्रयाक्ट आकाशमा
मौन छ समयको वाचाल ओठ
बन्द छन् तराजु बोक्ने आँखाहरू
रोकेको छ कसैले हावाको वेग
न फर्फराउँछ राष्ट्रिय झन्डा
न सुनिन्छ ‘ॐ माने पेमे हुँ’
मानिस सम्झन्छन्–
शान्ति पोतिएको छ
देशको आकाशे पेन्टिङमा
चुपचाप घर फर्किएको छ हतियारधारी
ध्यानमग्न छन् बन्दुकहरू
खुइलिँदै छ जीवनबाट बुद्धत्वको रङ
भइरहेछ तयारी अर्को मुक्तिको
चोरेको छ कसैले फूलको सुवास
न मुस्कुराउँछ बालक
न खिल्खिलाउँछ प्रेमी भँवरा
मानिस विश्वास गर्छन्–
एब्स्ट्रयाक्ट हुनेरहेछ शान्तिको पौभाचित्र
स्वतन्त्रता लेखिएको छ ब्यानरमा
र काटिँदै छ पखेटा चराहरूको
थाहा छैन कुनकुन पाइतालाले टेके
देशको छातीमा
छेकेको छ कसैले नदीको बहावलाई
न कल्कलाउँछ जीन्दगीको संगीत
न रमाउँछ सीमाना छेउको माटो
मानिस सुनाइरहेछन् –
शान्तिको अमूर्त कविता
बुद्धपूर्णिमाको मध्यरातमा
फेरियो शान्तिको परिभाषा ।

प्रतिक्रिया