एकल महिला सुरक्षा कोष सार्वजनिक

काठमाडौं, १५ असार । आगामी आर्थिक वर्षदेखि लागू हुने गरी एकल महिला सुरक्षा कोष नियमावली शुक्रबार सार्वजनिक भएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव दिनेश अधिकारीले नेपालमा रहेका एकल महिलाको अवस्थाबारे विभिन्न तथ्य सार्वजनिक गरेका थिए ।

सचिव अधिकारीका अनुसार नेपालको कुल जनसंख्यामा ५१ दशमलव १ प्रतिशत महिला रहेकामा पाँच लाख महिला एकल छन् । कुल एकल महिलामा ११ प्रतिशत साक्षर र १० देखि १९ वर्षको उमेरमा बिहे भएका महिलाको संख्या बढी छ । त्यही उमेर समूहका महिला बढी यौनजन्य हिंसाको सिकार हुने गरेका छन् ।
कार्यक्रममा चेतना र सुविधाको समस्याले पनि महिलाहरूले आफूले पाउनुपर्ने सुविधाको उपयोग गर्न नसकेको उल्लेख गरियो ।
कार्यक्रममा महिला आयोगकी प्रवक्ता मोहना अन्सारीले जारी नियमावली महिलाका लागि धेरै प्रभावकारी भएकाले यसको कार्यन्वयनमा जोड दिनुपर्ने बताइन् । अर्की वक्ता सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले नियमावली व्यावहारिक बनाउन अग्रह गरिन् ।
एकल महिला समूहकी अध्यक्ष लिली थापाले अहिलेसम्म यस्ता कुनै कार्यक्रम वा निर्देशिका प्रभावकारी नहुने गरेको उल्लेख गर्दै नयाँ नियमावलीले भने एकल महिलाको आस जगाएको बताइन् । कागजी रुपमा हुने गरेका निर्णय ब्यवहारीक हुन सके भने एकल महिलाले राज्यबाट आस गर्ने ठाउँ रहने थापाको जिकिर थियो ।
मन्त्रालयले तयार पारेको नियमावली सञ्चालन र त्यसको प्रभावकारिताबारे जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न महिला अधिकारवादी संस्था तथा सञ्चारकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया