नेप्से महाप्रबन्धकमा थपलिया

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)को महाप्रबन्धकमा सीताराम थपलिया नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थपलियालाई स्टकको महाप्रबन्धकमा नियुक्त गरेको हो । सार्वजनिक संस्थान निर्देशन बोर्डले अर्थ मन्त्रालयका उपसचिव डा. डिल्लीराज अर्याल, नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष सीताराम थपलिया र नेप्सेका पूर्वमहाप्रबन्धक शंकरमान सिंहलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकले सिंहलाई विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।
चितवनका थपलिया कृषि विकास बैंक र प्रुडेन्सियल इन्स्योरेन्समा सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक निर्वाचित भएका थिए । नेप्सेमा महाप्रबन्धक नियुक्ति प्रक्रिया सुरु भएपछि थपलियाले इन्भेस्टर्स फोरमबाट राजीनामा दिएका थिए । यसअघि बैंक अफ काठमाडौंको सञ्चालक समितिमा सर्वसाधारणको तर्फबाट सञ्चालक र डा. चिरञ्जीवी नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुँदा बोर्डमा विज्ञ सञ्चालक थिए । स्टकको महाप्रबन्धकका लागि तत्कालीन कामु महाप्रबन्धक प्रमोदकुमार भट्टराई, सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिना, राष्ट्रिय बिमा संस्थानका पूर्वप्रशासक शिवहरि श्रेष्ठ र शिक्षक कुमार केसीले आवेदन दिएकोमा पाँच जना मात्रै सर्टलिस्टमा परेका थिए ।

प्रतिक्रिया