खोजखबर

मुद्दा फैसला नहुँदै १० कर्णेलले अवकाश पाउने

सौर्य अनलाइन २०७० असार १४ गते ३:०० मा प्रकाशित

nepal_policeकाठमाडौं, १४ असार । कनिष्ठ प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको भन्दै सर्वोच्च अदालत पुगेका नेपाली सेनाका १० प्रमुख सेनानी ६ दिनपछि अनिवार्य अवकाश हुने भएका छन् ।

सर्वोच्चको ढिलासुस्तीका कारण मुद्दाको फैसला हुन नपाई १० कर्णेलले अवकाश पाउन लागेका हुन् । अवकाश हुने प्रमुख सेनानीहरूमा नवीन बस्नेत, सम्पत अर्याल, रमेश थापामागर, चन्द्रबहादुर पुन, सुरेन्द्र घर्ती, राजेन्द्रजंग खत्री, प्रकाश पोखरेल, राजमी थापा, शम्भु ढुंगाना र सानु तामाङ रहेका छन् ।
ढुंगाना र तामाङबाहेकका आठै जना प्रमुख सेनानीले ‘फास्ट्रयाक’ नीति अवलम्बन गरी ‘स्टाफ कलेज’ समेत नगरेका जुनियर सैनिक अधिकृतलाई बढुवा गरेको भन्दै ४ चैतमा सर्वोच्चमा मुद्दा हालेका थिए । तर, मुद्दाको टुंगो नलागीकनै दसै जना प्रमुख सेनानीले अवकाश पाउने भएका छन् ।
उनीहरूले गत ४ चैतमा ‘फास्ट्रयाक’ विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । मुद्दाको संवेदनशीलताअनुसार सर्वोच्चले जातिसक्दो चाँडो सुनुवाइ मिति तोक्नुपर्ने थियो । तर, सर्वोच्चले सुनुवाइ मितिलाई २ हप्तापछि सारेर १९ चैतमा ‘स्टे अर्डर’ जारी गर्‍यो । त्यसबेलासम्म मन्त्रिपरिषद्को बैठकले सैनिक जंगी अड्डाबाट सिफारिस भएबमोजिमको १६ प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने निर्णय गरिसकेको थियो भने लगत्तै दज्र्याजी चिह्नसमेत लगाइसकेको थियो ।
सर्वोच्चको ‘स्टे अर्डर’ पछि उक्त मुद्दाले झन्डै तीन हप्तापछि ९ जेठमा पेसी पायो । न्यायाधीश गिरीशचन्द्र लाल, वैद्यनाथ उपाध्याय र शेरबहादुर कार्कीको संयुक्त इजलासबाट मुद्दा दायर गर्ने पक्षको सुनावाइ भयो । अर्को पक्षको सुनुवाइ हुन नसक्दा पेसी मिति पुन: एक महिनापछि सर्‍यो । सोहीअनुसार उक्त मुद्दाको बिहीबार पेसी थियो । तर, मुद्दाको टुंगो बिहीबार पनि लागेन । स्रोतका अनुसार सर्वोच्चले अर्को पेसीको मितिसमेत नतोकी मुद्दालाई अन्योलपूर्ण बनाइदियो ।
मुद्दा हाल्नेमध्येका एक कर्णेल भन्छन्, ‘अदालतबाट न्याय पाउने आशले मुद्दा हालियो । मुद्दाको संवेदनशीलतालाई हेरेर अदालतले चाँडो फैसला गर्नुपर्ने थियो । तर, त्यसो भएन । अन्तत: हाम्रो मुद्दाले किनारा नपाई घर जानुपर्ने स्थिति आयो ।’
उनीसँगै मुद्दा दायर गर्ने अर्का कर्णेलका अनुसार मुद्दाको टुंगो लागेर मात्रै घर जान पाए २६ वर्षे जागिरे जीवनमा गुनासो रहन्नथ्यो । उनले भने, ‘हामीेले चैतमै मुद्दा हालेका थियौँ तर मुद्दा सर्‍यो । अबको अवकाशको मिति नै नजिक आइसक्यो । मुद्दाको फैसला भएर घर जान पाए गुनासो त रहन्नथ्यो ।’
सेनाले विगतदेखि अपनाउँदै आएका बढुवा पद्धति छाडी सैनिक नियमावली २०६९ अनुसार १६ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्न सिफारिस गरेको थियो । नियमावलीमा सेनाको एउटै पदमा रहेका अधिकृतहरूलाई अति योग्य, बढी योग्य र योग्य गरी तीन तहमा वर्गीकरण गर्ने र त्यहीअनुसार बढुवा गरिने भनिएको छ । भर्खरै कार्यान्वयनमा ल्याइएको उक्त नियमावली अन्तरिम संविधानविपरीत भएकाले तत्काल खारेजी हुनुपर्ने सर्वोच्चमा दायर भएको रिटमा उल्लेख छ ।
बढुवा समितिले १४ फागुनमा गरेको सिफारिसअनुसार १६ चैतमा मन्त्रिपरिषद्को बैठकले १६ प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवामा पर्ने प्रमुख सेनानी रामकृष्ण थापा, हेमजंग थापा र भीम शाहले स्टाफ कजेलको कोर्स पूरा गरेका छैनन् ।
बढुवा भएका प्रमुख सेनानी प्रेमध्वज अधिकारी, हीरालाल जोशी, दीपक बानियाँ, शंकरबहादुर पण्डित, सुरेन्द्रसिंह रावल र होमनाथ दवाडी अवकाश पाउन लागेका १० प्रमुख सेनानी भन्दा एक ब्याज कनिष्ठ हुन् । स्रोतका अनुसार २०४४ का ब्याजी अवकाश हुन लागेका १० प्रमुख सेनानी २० असार २०६२ मा पदोन्नोति भएका थिए भने २०४५ का अधिकारी, जोशी, बानियाँ, पण्डित र दवाडी २३ असोज २०६२ मा पदोन्नोति भएका थिए ।

प्रतिक्रिया