क्यानभासमा समय उतार्दै महेश

Mahesh‘सर्ट पाइन्ट, स्कुल ब्याग, खाजा अनि बोटलमा पानी । चट्ट परेर स्कुल जान तयार छोरा । छोरी थोत्रा कपडा लगाएर भाँडा माझिरहेकी छे । छोरीको काम अझ चित्त नबुझेर आमा झर्कंदै गरेको विम्ब, चोरी औँला ठड्याएर आक्रोशित मुद्रामा ।’ १७ वर्षअघिको समय । अहिले असहाय नागरिकलाई पावरदार व्यक्ति कुल्चिँदै छन् । रगत लतपतिएको खुट्टाले टेकेर कुर्सीतर्फ अघि बढिरहेका पाइलाका विम्ब ।
महेश बस्ताकोटीले करिब दुई दशकको अन्तरालमा देखेका समयविम्ब हुन् यी । चार कक्षामा पढ्दा लैंगिक असमानताको समयलाई स्केचमा उतारेका थिए बस्ताकोटीले । आज, राजनीतिक अराजकताको विम्ब क्यानभासमा उतारेका छन् ।
ललितकला क्याम्पसमा तेस्रो वर्ष अध्ययनरत बस्ताकोटीले नेपाली समाज र राजनीतिका समस्यालाई क्यानभासमा पोखेका छन् । ललितकलाका सिद्धान्त, पेन्टिङको अर्थ नबुझ्दा पनि उनले समाजलाई स्केच गरेका थिए । बालमस्तिष्क परिपक्व हुँदै २७ वर्षको युवावस्थामा आएपछि पनि उनी यिनै समाजको विम्बका वरिपरि छन् । ‘समाजका समस्यालाई विम्बमार्फत सम्बोधन गर्नु कर्तव्य ठानेको हुँ,’ उनले भने, ‘विकृत राजनीतिका कारण सबैभन्दा धेरै मार हामी युवालाई पर्छ ।’
सर्वनाम थिएटरका भित्तामा उतारिएका समाजका जीवन्त विम्बबारे प्रस्ट्याउँदै थपे, ‘अरूको भावनाभन्दा आफ्नै भाव बढी स्पष्ट हुन्छ । आफूलाई नजिकबाट बुझ्न सक्छु, त्यो आमयुवाको भाव हो ।’
समयका विम्बलाई खुलाउन ‘एक्रेलक’ माध्यम अपनाउँछन् बस्ताकोटी । हिउँदको समय परीक्षा नजिकिँदै थियो । बस्ताकोटी परीक्षाको तयारीमा जुटेका थिए । पढिरहेका बेला बत्ती गयो । टुकीको उज्यालोमा केही बेरअघि बलिरहेको बल्बमा आफ्नै मुहार हेरे बस्ताकोटीले । उल्टो आकृतिमा देखिएको आफ्नो अनुहार बत्ती आएपछि पनि तुलना गरे उनले । बत्ती नभएको समय, अँध्यारोमा देखिएको आफ्नै अनुहार पनि समयको एउटा घेरामा सुरक्षित थियो । अन्तत: आकृति पायो विम्बमा । असार ४ गतेदेखि तिनै फरकफरक समयका विम्ब अंकित चित्र सर्वनाम थियटरका भित्तामा प्रदर्शन भइरहेछन् ।
०००
नवलपरासीको दिव्यपुरीका महेश बाल्यकालमा मामा अनि दाजुका चित्रबाट आकर्षित हुन्थे । ‘दाइले आर्ट गरेका चित्र हेर्दै ती चित्र कोर्ने हात आफ्नै भएको कल्पना गरिरहन्थे ।’ आज, आफैँ चित्र बनाइरहेछन् महेशले । नजान्दै बसेको चित्रकलाप्रतिको मोह आज क्यानभासमा उतारिएको छ । चित्रकलाको बाटोमा गतिलो सल्लाह नपाएको भए उनी यतिबेला विदेशको खाडीमा पसिना चुहाइरहेका हुन्थे सायद । सम्झन्छन्, ‘प्लस टु पास गरेपछि विदेश जान लागेको थिएँ । दुबइमा आर्ट भिसामा काम गर्न जाने तयारीमा भएका बेला गैँडाकोटका एक जना चित्रकार दाइसँग सल्लाह लिन पुगे । चित्रकलामा मोह भएको मान्छे, कलेज पढेरै सिक्ने सल्लाह दिनुभयो ।’
आफ्नो चाहनाको विषय पढ्न कस्सिए उनी । ललितकला क्याम्पसमा पढ्न आएका बस्ताकोटी तीन वर्षको अध्ययनमै एक मेधावी छात्र बनेका छन् । चित्रकलामा अब्बल बनेका छन् । सर्वनाम कला प्रोत्साहनबाटसमेत पुरस्कृत उनी चित्रकलालाई नै जीवन ठान्छन् । ‘लगनशीलता र मेहनत भए सफलता साथ लाग्ने रहेछ,’ चित्रकला पढेर जीवन सार्थक ठान्छन्, यी युवा ।
२७ वर्षे उमेरका उनले जीवनका रंग थुप्रै भोग्न बाँकी छ । भोगेका अनि देखेका केही रंगलाई क्यानभासमा उतार्न लागिपरेका बस्ताकोटी रंगहरूको सम्मिश्रणलाई चित्रमा कोरेझैँ जीवनमा पनि विभिन्न रंग भोग्नुपर्ने विश्लेषण गर्छन् । रंग उनका लागि जीवन भोगाइ हो भने आफूलाई चिनाउने माध्यम पनि । त्यसैले कलामार्फत जीवन भोगाइ उतार्नमै अपार सन्तुष्टि भेट्छन् । सर्वनाम थिएटरमा आगामी १९ गतेसम्म प्रदर्शन लागि राखिएका ‘समय’ शीर्षकका जीवनविम्बबारे आगन्तुकहरूका प्रतिक्रिया सँगेल्नमा व्यस्त छन् उनी यतिखेर । चित्रकारितामा स्थापित हुन संघर्षको गोरेटोमा रहेका यी युवाले चित्रकारिताबाट समाजसुधारको अभियन्ता बन्ने अठोट गरेका छन् । (सौर्य)

प्रतिक्रिया