आयोगका पदाधिकारीसँग समिति रुष्ट

4 dal ka netaकाठमाडौं, १२ असार । उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन आयोगको पछिल्ला कामकारबाही र गतिविधीप्रति असन्तुष्टी जनाएको छ ।
नयाँ बानेश्वरमा आज (बुधबार) बसेको समिति बैठकमा शीर्ष नेताहरुले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुका गतिविधी र क्रियाकलापप्रति असन्तुष्टी जनाएका हुन् । समितिले आयोगका गतिविधिहरु चुनाव विरोधी भएको आरोप लगाएको छ ।
निर्वाचनको काम र प्रक्रियालाई तिब्रगतिमा अघि बढाउनुको साटो आयोगका पदाधिकारी प्रचारबाजी र कर्मचारी सरुवामा लागेको समितिले आरोप लगाएको छ ।
एमाओवादी र मधेसी मोर्चाका नेताहरुले निर्वाचन आयोगका सचिव सरुवा र प्रमुख निर्वाचन आयुक्तका पछिल्ला अभिब्यक्तिले चुनावी तयारीमा प्रतिकुल असरपारेको जनाए ।
आयोगका पदाधिकारीहरुका अभिव्यक्ति र गतिविधीका विषयमा समितिले उनीहरुसँग परामर्श गर्ने निर्णय गरेको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘समितिले आयोगसँग निर्वाचनको तयारीका विषयमा छलफल गर्ने निर्णय छ,’ उनले भने ।
समितिले असन्तुष्ट दलहरुसँग मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी निर्वाचन प्रक्रियामा आउने पक्का भएको दाबी गरेको छ । नेकपा–माओवादीसँगको वार्ता जारी राख्दै उसलाई पनि चुनावी प्रक्रियामा सहभागी हुन अनुकुल वातावरण बनाउने निर्णय बैठकले गरेको श्रेष्ठले बताए ।

प्रतिक्रिया