२ खर्ब ५७ अर्ब राजस्व संकलन

काठमाडौं, १२ असार । आथिर्क वर्षको जेठसम्म २ खर्ब ५७ अर्ब ४६ करोड १० लाख राजस्व संकलन गरेको छ । सरकारले कर राजस्वतर्फ २ खर्ब २५ अर्ब ८५ करोड ०४ लाख र गैर कर तर्फ ३१ अर्ब ६१ करोड ६ लाख सो रकम संकलन गरेको हो ।
चालु आर्थिक वर्षको जेठ महिनामा कर राजस्ववापत १९ अर्ब २० करोड ९८ लाख र गैर कर तर्फ रु ३ अर्ब ८० करोड २६ लाख गरी कुल २३ अर्ब १ करोड २४ लाख संकलन भएको छ । गत आवको जेठ महिनामा कुल राजस्व संकलन २० अर्ब ८८ करोड ४३ लाख रुपियाँ संकलन भएको थियो । चालु आथिर्क वर्षको जेठ महिनाको संकलन गत वर्षको तुलनामा १० दशमलव १८ प्रतिशतले वृद्धि भएको छ ।
शीर्षगत रुपमा विश्लेषण गर्दा यस आव२०६९/७० को जेठ महिनासम्म भन्सार महसुल तर्फ ५१ अर्ब ३५ करोड ७९ लाख रुपियाँ राजस्व संकलन भई गत आवको सोही अवधिको तुलनामा ३३ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी मूल्य अभिवृद्धि करको आन्तरिक उत्पादन तर्फ २५ अर्ब २१ करोड २० लाख रुपियाँ र पैठारीतर्फ ५० अर्ब २४ करोड ६२ लाख गरी कुल ७५ अर्ब ४५ करोड ८३ लाख रुपिया संकलन भएकोले यस तर्फ गत आवको सोही अवधिको तुलनामा १६ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ ।
अन्तःशुल्कमा जेठमहिनासम्म आन्तरिक उत्पादन तर्फ १९ अर्ब २४ करोड १३ लाख र पैठारी तर्फ १३ अर्ब ३२ करोड ५५ लाख गरी कुल ३२ अर्ब ५६ करोड ६९ लाख रुपियाँ संकलन भएको छ । उक्त संकलन गत आवको सोही अवधिको तुलनामा २२ दशमलव १७ प्रतिशतले बढी रहेको छ । आयकरतर्फ आवको जेठमहिनासम्ममा ५४ अर्ब ६२ करोड ७६ लाख रुपियाँ संकलन भई गत आवको सोही महिनासम्मको तुलनामा ३० दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी रजिस्ट्रेसन दस्तुर र सवारी साधन करतर्फ जेठ महिनासम्म क्रमशः ४ अर्ब ६३ करोड ६० लाख र ४ अर्ब ९ करोड ३८ लाख रुपियाँ संकलन भई गत बर्षको सोही अवधिको तुलनामा वृद्धि दर २९ दशमलव ४ र १७ दशमलव २१ प्रतिशत रहेको छ ।
यसरी राजस्व असुली उत्साजनक रुपमा वृद्धि हुनुमा समग्र कर प्रशासनमा गरिएको सुधार, आयातमा भएको वृद्धि, मूल्यांकन प्रणालीलाई वैज्ञानिक वनाउने प्रयास, कर छलीविरुद्धको अभियान, कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणालीको प्रयोग, सेवा क्षेत्रको वढ्दो विस्तार, राजस्व चुहावट नियन्त्रण र चोरी पैठारी नियन्त्रणमा गरिएका थप प्रयास, करदाता शिक्षा र कर चेतनामा करदाता सेवा कार्यालयहरूको स्थापना, अनुसन्धानात्मक कर परीक्षण र कर दायित्वको सिर्जना, गैर कर राजस्वमा समेत सेवा क्षेत्रको वढ्दो योगदान, पुँजिगत खर्च क्रमशः वृद्धि हुँदै जानुरहेका छन् ।

प्रतिक्रिया