खोजखबर

जितेर पनि हारिरहेकी गोर्खाली आमै

सौर्य अनलाइन २०७० असार ११ गते २:४५ मा प्रकाशित

मुडुलो टाउको । बचेखुचेका अधिकांश कपाल सेता छन् । अनुहारको चाउरीले उकालिँदै गरेको बुढ्यौलीको सिम्बोल दिइरहेछ Sabitri-Adhikari। हत्केला च्यापुमा अड्याएर पर कतै क्षितिजमा हेरिरहेछिन् सावित्री अधिकारी उर्फ गोर्खाली आमै । ‘८० वर्षकी भएँ ।’ तनमा बुढ्यौली छाए पनि मनमा भने तन्नेरी दिनका विम्बहरू झल्याकझुलुक भइरहेछन् ।

‘नहेर डोको, नहेर नाम्लो, पुरानो बरियो
खानु छ कावा, ताप्नु छ हावा बन्देजमा परियो ।’
बिनालय गीत सुनाउँदै तन्नेरी वयका दिनहरू कोट्याइन्, ‘यो गीत फोरा (फोहरा) दरबार बस्दा गाउँथ्यौं । बाहिर खुला वातावरण थियो, हामी भने निस्फिक्री बाहिर निस्किन नपाउने । बाहिर निस्किनुपर्‍यो भने एकजना साथी लगाइदिन्थे । काम नभए पनि भित्रै थुनिइरहनुपरेको बिलौना मिठो लयमा गाएर पोख्थ्यौं । हाम्रो गीत सुनेर जर्नेलहरु हाँस्थे ।’ फोहरा दरबारमा करिब १७ वर्ष चाकडी गरेर बसेकी थिइन् साबित्री । फोहरा दरबार माधवशमशेरको स्वामित्वमा थियो । इतिहासकारहरुका अनुसार राणकालीन समयमा निर्माण भएका ४० वटा भव्य दरबारमध्ये फोहरा दरबार पनि एक थियो । त्यही भव्य दरबारमा जर्नेल–कर्नेलहरूको चाकडी गर्ने सर्वसाधारणमध्येकी एक हुन् साबित्री पनि ।
साबित्रीले दरबारमा कहिले भात पकाइन्, कहिले दरबारीयाहरुले धर्मकर्मका नाममा गर्ने पुजापाठका लागि दुना, टपरी गाँस्ने जिम्मा लिइन् । दरबारमा राणाजीहरुले निकै मस्ती गरेको इतिहासका विभिन्न अभिलेख बताउँछन् । मनोरञ्जनका लागि सुन्दरीहरुलाई रानी, रखौटी विभिन्न नाममा दरबारमा राखे । सावित्रीका अनुसार उनी पनि युवावयमा सुन्दर युवती थिइन् । तर, राणाको दरबारमा कुन हैसियतसम्मको काम गरिन्, उनले खुलाइनन् । यति मात्रै भनिन्, ‘दरबारमा आइमाईको डफ्फा नै हुन्थ्यो । प्रत्येक कोठामा कम्तीमा चार जना युवती खडा बस्नुपर्ने ।’ सायद, त्यो डफ्फाभित्र उनको पनि ड्युटी लेखिएको हुन्थ्यो ।
युवा बेलाको करिब १७ वर्ष फोहरा दरबारमा बित्यो साबित्रीको । तीन रुपियाँ तलबबाट काममा बसेकी उनले चार सय रुपियाँसम्म तलब खाइन् । उनका पालाका घरानिया राणाहरू एकएक चिन्छिन् साबित्री । ‘भरत जर्नेल, ऋषिकुमार, दामोदर शमशेर सबैसँग बिन्ती बिसाउँथेँ’, भन्छिन्, ‘शशीशमशेरलाई त मैले हजुर भोलिको जर्नेल हो भनेकी थिएँ, नभन्दै भइहाले ।’ फोहरा दरबारमा खान नपाउनेलाई बोलाएर एउटा रोटी भएपनि खुवाउँथे । दु:खीलाई दुई चार सुकामोहर सहयोग दिन्थे । त्यस्तै सहयोगअन्तर्गत चाकडीको अवसर पाएकी थिइन् साबित्रीले । भलै, सुन्दर रूपले वा राणाहरुले दु:ख बुझेर चाकडीको अवसर दिए, उनै जानुन् ।
०००
सावित्री अधिकारी, गोरखाकी खानदानी ब्राह्मण परिवारकी बुहारी । गोरखाको खैरहनीमा सात वर्षको उमेरमा बिहे भएको थियो भरत अधिकारीसँग । साबित्रीका अनुसार ससुरा पटनाका लप्टन थिए । परिवारमा ठूलो रजगज थियो । सम्पत्ति, जग्गाजमिन प्रशस्तै । ‘म आफैले पनि १६ पाथी असर्फी भरेकी थिएँ ।’ सम्पन्न पारिवारिक पृष्ठभूमि बताउँदै साबित्रीले सुनाइन् । सम्पन्न परिवार भएकै कारण ५० वर्षका भरतसँग मागीविवाह गराउन राजी भएका थिए सावित्रीका माइती । ‘सम्पत्ति टन्न भएको परिवारमा परे छोरीले सुख पाउली’, सायद यस्तै सोचेका थिए ।
श्रीस्वस्थानी व्रतकथामा सात वर्षकी गोमा ब्राम्हणीका मातापिताले शिवजीको श्राप लागेका कारण ७० वर्षका शिवशर्मा वृद्धलाई छोरी दिनुपरेजस्तो बाध्यतामा थिएनन् सावित्रीका बुबाआमा । रजस्वलाअघि छोरी अन्माउँदा पुण्य कमाइन्छ, स्वर्गमा बास पाइन्छ भन्ने अन्धविश्वास अनि भरत अधिकारीको पारिवारिक सम्पन्नताले तानेको थियो अनमेल विवाहका लागि । त्यही अनमेल विवाह सावित्रीको जीवन भताभुङ्ग बनाउने माध्यम बन्यो । जीवनमा भौँतारिँदै कहिले दरबारको रजगजसमेत भोगिन् त कहिले सडकपेटीको बास । ‘ऊ ५० वर्षको, म सात वर्षकी । घरमा मागेर धुनधानसँग बिहे गरियो । त्यही वर्ष सौता ल्यायो । मलाई टुलुक्क हेरेन । म लुगा लाउन पनि नजान्ने थिएँ । सौता ल्याउँदा लगलग काँप्थे रे । बालकालमा बिहे गरिदिए, लोग्नेको माया जीवनभर पाउन सकिनँ ।’
बिहे गरेको पाँच वर्षसम्म चुपचाप बसिन् सावित्री । लोग्नेको माया फर्किन्छ भन्ने आशा त्यो बालमनमा थियो कि † तर पतिले वास्ता गरेनन् । अन्तत: १२ वर्षकी किशोरी अंशका लागि मुद्दा लड्न थालिन्, ‘जेठाजुले मुद्दा लड् भनेर लेखिदिए । जिल्ला अदालत गोरखामा अंश मुद्दा लड्न गएँ ।’ १२ वर्षको उमेरदेखि मुद्दा लड्न थालेकी सावित्रीले ८० वर्षसम्म पनि अंश पाएकी छैनन् । अंश लड्दा पाएको दु:ख सम्झँदै थपिन्, ‘गोरखा अदालतमा नौ वर्ष मुद्दा लडें, पोखरा अदालतमा पनि नौ वर्ष मुद्दा लडें, क्षेत्रीय अदालतमा तीन वर्ष । सबै तहमा मुद्दा जिते पनि सौताका परिवारले जग्गा भोगचलन गर्न दिएनन् । क्षेत्रीय अदालतपछि सर्वोच्च अदालत आएँ । सर्वोच्चमा तीन वर्ष अनि फेरि तीन वर्ष न्याय समितिमा मुद्धा लडें । अझै न जग्गा पाएँ, न दिने भनेको क्षतिपूर्ति ।’ पतिका विरुद्ध मुद्दा लड्न थालेकी सावित्री अहिले सौताका छोराहरुसँग अंश मागिरहेकी छिन् ।
मुद्दाको तारिख धाउन पटकपटक काठमाडौं आउजाउ गर्दा दरबारमा चाकडी गर्न बसेका महिलाहरु साथी बने । अनि, दरबारमा चाकडी गर्नेहरूको सूचीमा पनि थपिइन् उनी । दरबारबाटै छ वर्षसम्म सर्वोच्च अदालतमा मुद्दा लडिन् । आइमाईलाई एक्लै घर पठाउनुुहुन्न भन्ने मान्यताको त्यो समयमा दरबारबाट एक जना साथी लगाइदिएर सार्वोच्च पठाउँथे रे उनलाई । फोहरा दरबारमा चाकडीमा बस्दा जर्नेल–कर्नेलहरुले सहयोग गरेर अंश दिलाइदिन्छन् भन्ने आशा थियो । तर, साबित्रीले न्याय पाइनन् ।
चाकडी गर्न बस्दा जर्नेल–कर्नेलदेखि राजाका सचिवसम्मकालाई बिन्ती बिसाउन पुगेको स्मरण गर्दै भनिन्, ‘जेठाजु ऐन–कानुन जानेका थिए । मुद्दा गर भनेर लाइदिए, त्यसैले लडें । आफन्तहरुको सहयोग जुटाउन टाढाटाढासम्म एक्लै धाइरहेँ । आफ्ना मान्छेहरु जिम्दार थिए, पोखरामा भक्तबहादुर डिट्ठा, भान्दाइ थिए । सर्वोच्चमा पशुपति न्यायाधीशको छोरा न्यायसमितिमा थियो । उसको नाउँ कुश्मराज हो । बिहान ब्वाँब्वाँ गाइ कराउँदा मुद्दा हेरिदिनुस् भन्दै जान्थें । ‘ए दिदी म छु धन्दा नमान’ भन्थ्यो । त्यति बेला शान्तकुमार जर्नेल भयो । उज्यालो नहुँदै पुग्थें । सबैले तैंले न्याय पाउँछेस् भन्थे । कसैले केही गरिदिएनन् । अहिले कोही भेटिदैनन् ।’
उनले आफ्नो दु:खको फेहरिस्त लगाइन्, ‘जिल्ला अदालतबाटै पाँच सय मुरी धान फल्ने जग्गा जितें, त्यै पनि दिएन । बूढा पनि मरे । तीन वर्षअघि साढे तीन लाख जम्मा दिने निर्णय गरेर कागज पनि गरेको थियो । सौताका छोराहरुले पैसा दिँदैनन् । त्यै भए पनि पाइन्छ कि भनेर अझै वकिल लाइरहेकी छु ।’ वकिललाई मुद्दाको कागज लेख्न लगाए चार हजार लाग्छ । त्यसैले उनले यसअघिका सबै मुद्दाका मिसिल सिएर राखेकी छिन् । खर्च अभावका कारण सीधै क्षतिपूर्तिको कागज कार्यान्वयन गराउन वकिलको सहयोग माग्दै ढोकाढोका चहारिरहेकी छिन् साबित्री ।
०००
सावित्री अधिकारी आफूलाई गोर्खाली आमै भन्न रुचाउँछिन् । कडा मिजासकी एक महिला । सधैंभरि अशंमुद्दा लडेरै जीवन गुजारिन् । त्यही मुद्दा लड्ने शिलशिलाले उनलाई राणाका दरबारको चाकडीमा पनि ल्याइपुर्‍यायो । पछि केही समय घर फर्किइन् । तर, मुद्दा लडेकी एक महिलाले पारिवारिक संरक्षण पाउन सकिनन् । अन्तत: काठमाडौंको ठमेलमा माइतीका आफन्तको संरक्षणमा केही वर्ष गुजारिन् । दरबारमा काम गर्दा जोगाएको केही पैसाले दैनिकी गर्जो टरे पनि अहिले उनीसँग खाने–बस्ने जोहोसमेत छैन ।
२०१७ सालमा राजा महेन्द्रले फोहरा दरबार भत्काएर बाँकी रहेको भग्नावशेषझैं उनको मानसपटलमा दरबारमा बिताएका स्मृति मात्रै छन् । दरबारको चाकडी गरेर उनले सुन्दर यौवन मात्रै लुटाइन् ? सायद यो प्रश्न अहिले सुहाउँदो छैन । तर, जीवनको उत्तराद्र्धमा सडकमा फालिएका धेरै आमाहरुझैं उनी पनि वृद्धाश्रमको आश्रयमा छिन् । दिलशोभा श्रेष्ठले सञ्चालन गरेको काठमाडौं रविभवनको आमाको घर उनका लागि खाने–बस्ने थलो बनेको छ । बालविवाहका कारण जीवन भताभुङ्ग भएकी सावित्री आफ्नो जीवनको खण्डखण्ड विश्लेषण गर्दै यति मात्रै निष्कर्ष निकाल्छिन्, ‘भावीले लेख्या, थालले छेक्या, कसैले नदेख्या ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय