असन्तुष्ट दल पनि चुनावमा आउँछन् : गच्छदार

काठमाडौं, ११ असार । उच्चस्तरीय राजनीतिक समितिका संयोजक तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक निकास र देशको समृद्धिका लागि चुनाव एक मात्र विकल्प भएको बताएका छन् । अहिले आन्दोलनमा रहेका दलसित छलफल गरेर उनीहरूलाई पनि चुनावमा सहभागी गराउने दाबी पनि गच्छदारले गरे ।

आन्दोलनरत संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईसँग आफूले एक चरण छलफल गरिसकेको र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसँग पनि सहमतिका लागि छिट्टै वार्ता गर्ने गच्छदारले बताए । ‘नेकपा–माओवादीले पनि निर्वाचनमा भाग लिन्छ, अब हतियार उठाउने स्थिति छैन,’ सोमबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा गच्छदारले भने ।
साना दललाई चुनावमा सहभागी गराउन मतसीमाको व्यवस्था हटाइएको बताउँदै गच्छदारले वार्ताद्वारा संविधानसभा सदस्यको संख्यामा पनि सहमति कायम गर्न सकिने बताए । संविधानसभाको चुनावबाट बनेको नयाँ संविधानले मात्र मधेसी, आदिवासी, महिला र उत्पीडित वर्गको अधिकार सुनिश्चित गर्नसक्ने उनले बताए ।
आफ्नो पार्टीलाई पूर्णरूपमा लोकतान्त्रिक र समावेशी बनाउने तथा हिमाल, पहाड र तराई सबैलाई समेट्ने बताउँदै अध्यक्ष गच्छदारले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई देशकै तेस्रो ठूलो दल बनाउने दाबी पनि गरे ।
गच्छदारले जातीय र सामाजिक सद्भाव कायम राख्न पार्टीले जोड दिएको बताए ।

प्रतिक्रिया