सोसियल मिडियाको दुरुपयोगविरुद्ध अभियान

काठमाडौं, १० असार । कल्याणकारी पत्रकारिताका क्षेत्रमा कार्यरत मिडिया फर वेलफेयरले नेपालले ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)सँग मिलेर फेसबुक, ट्विटरलगायत सोसियल मिडियाको बढ्दो दुरुपयोगविरुद्ध साताव्यापी अभियान सञ्चालन गर्ने भएको छ ।

३० जुनमा पर्ने विश्व सोसियल मिडिया डेको अवसर पारेर सञ्चालन गरिने अभियानको नारा ‘म दुरुपयोग गर्दिनँ’ राखिएको छ । सोमबारदेखि सुरु हुने अभियानअन्तर्गत सार्वजनिक सवारीसाधनमा स्टिकर टाँस्ने, पर्चा वितरण गर्ने, उपत्यकामा हस्ताक्षर संकलन गर्ने, अन्तरविद्यालय बाल चित्रकला एवं कलात्मक ब्यानर प्रतियोगिता गर्ने र सरोकारवाला निकायसँग बृहत् अन्तक्र्रिया र सम्मान गर्ने कार्यक्रम रहेका छन् ।
सुरुका दुई दिन काठमाडौंका विभिन्न क्षेत्रमा करिब १० हजारको संख्यामा स्टिकर टाँस्ने तथा पर्चा वितरण गर्ने कार्यक्रम रहेको मिडिया फर वेलफेयरका अध्यक्ष सुराच प्रसार्इंले बताए । त्यसपछिका दुई दिन सार्वजनिक प्रतिबद्धतास्वरूप प्रयोगकर्ताको हस्ताक्षर काठमाडौंका विभिन्न स्थानबाट लिइनेछ ।
शुक्रबार ‘सोसियल मिडिया दुरुपयोग गर्दिनँ’ भन्ने ‘थिम’मा हुने प्रतियोगितामा काठमाडौंका एक सयभन्दा बढी विद्यायलले भाग लिने आयोजकले जनाएको छ । सोसियल मिडियामार्फत अपराध बढिरहेकाले सचेतनाका लागि अभियान सञ्चालन गर्न लागिएको प्रसाईंले बताए ।
अभियानबारे आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सोसियल मिडिया प्रयोगकर्ता आफैँमा सचेत हुनु नै समस्याको बलियो समाधान भएकाले सचेतनाका लागि अभियान चलाइएको बताए । त्यसैगरी, नाफाका प्राज्ञ रविनकुमार कोइरालाले सामाजिक सुरक्षामा कलाको भूमिका अहं भएको बताउँदै अभियानलाई साथ दिएको बताए । अभियानको अन्तिम दिन सरोकारवालासँग छलफलसँगै पत्रकारिता र आमसञ्चारका क्षेत्रमा लामो समयदेखि काम गरेका र यी क्षेत्रको माध्यमबाट नेपालको कला, संगीत र साहित्यमा विशिष्ट योगदान पुर्‍याएका एक दर्जन व्यक्तित्वलाई सम्मान कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया