सरुवा रोगका कारण ५० चौपाया मरे

रोल्पा : रोल्पाको पाङ गाविसमा चरचरे र भ्यागुते रोगका कारण ५० भन्दा बढी पशु चौपाया मरेका छन् । पशु चौपाया धमाधम मर्न थालेपछि किसान चिन्तित भएका छन् ।
पाङ–७ मात्दर गाउँमा गत बुधबारदेखि पशुहरूमा टाउको सुन्निने, र्‍याल छोड्ने, झोक्राउने, जिब्रो पाक्ने जस्ता लक्षण देखा पर्ने र लक्षण देखा परेको २/३ घन्टाभित्रै पशु मर्ने गरेको किसानले बताएका छन् । रोगका कारण मात्दरनिवासी बुधे पुनका पाँचवटा भैंसी, एकवटा गोरू र दुईवटा गाई, जिते थापाका तीनवटा भैंसी, जागृता पुनका तीनवटा भैंसी र एउटा गोरु, नौले पुनका दुईवटा भैंसी मरेपछि गाउँभर यो रोग फैलिएको स्थानीय शिक्षक चम्फ पुनले जानकारी दिए । रोगले महामारीको रूप लिएपछि किसानका गोठ रित्तिन थालेको शिक्षक पुनले बताए ।
पशु चौपायामा रोगका लक्षण देखिनासाथ जिल्ला पशु सेवा कार्यालय रोल्पामा जानकारी गएता पनि कार्यालयमा औषधि नभएको र नेपालगञ्जबाट मगाउनुपर्ने भनेर टार्ने गरेको किसानको गुनासो छ । शुक्रबार मात्रै पशु सेवा केन्द्र सुलिचौरबाट दुईजना प्राविधिक सो स्थानमा पुगेर भ्याक्सिन दिएको भए पनि औषधिको कुनै प्रभाव नदेखिएको किसानको भनाइ छ । भ्यागुते र चरचरे रोग मात्दर गाउँभन्दा बाहिर पनि संक्रमण भइरहेकाले चौपाया मर्ने क्रम नरोकिएको किसान जागृता पुनले बताइन् । (सौस)

प्रतिक्रिया