दुई सातापछि श्रम मन्त्रालयले अनुगमन गर्ने

काठमाडौं ९ असार । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको अनुगमन विशेषज्ञ समितिले आगामी दुई सातापछि गर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयमा गठित विशेष समितिले पहिलादेखि काम गर्दै आएका दुई सय पाँच र नयाँ थपिएका एक सय गरी तीन सय पाँचवटा स्वास्थ्य संस्थाको अनुगमन गर्ने श्रम तथा रोजगार मन्त्रालयका कानुन उपसचिव खिमानन्द भुसालले बताए ।

नयाँ आवेदन गर्ने संस्थालाई इजाजत दिने वा नदिने भन्नेबारे अनुगमनपछि थाहा हुने भुसालले बताए । ‘वैदेशिक रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने नयाँ इजाजत माग गर्ने संस्थाको अनुगमन गर्ने तयारी गरिरहेका छाँै,’ उनले भने, ‘यो क्रम सकिएपछि इजाजत दिइन्छ ।’ अर्थ मन्त्रालयको मापदण्डअनुसार आवश्यक पूर्वाधार पूरा नगरेकालाई अनुमगनपछि इजाजत दिने छैन । उपसचिव भुसालले भने, ‘श्रम तथा रोगजार मन्त्रालयले पनि आवश्यक मापदण्ड तयार गर्ने छ त्यसपछि अनुगमन गर्ने छौँ ।’
विगतको अनुगमनमा केही स्वास्थ्य संस्थालाई आवश्यक पूर्वाधार नपुग्दासमेत इजाजत पाएका थिए । यसपटक विशेषज्ञ समितिले स्थलगत अनुगमन गरेर मात्र स्वीकृति दिने उनले बताए । मन्त्रालयले माग गरेको आवेदनअनुसार थपिएका एक सयसहित तीन सय पाँचवटा स्वास्थ्य संंस्थाले स्वास्थ्य परीक्षणका लागि इजाजत दिन माग गरेका छन् । मन्त्रालयले आवेदन गरेअनुसार ती स्वास्थ्य संस्थाले रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि थपएक सयले इजाजतका लागि आवेदन गरेका थिए ।
अनुगमनको क्रममा आवश्यक पूर्वाधार पूर्णभएको खण्डमा इजाजत पाउने छन् । मन्त्रालयका अनुसार ०६४ सालमा दुई सय पाँचवटा स्वास्थ्य संस्थालाई कामदारको स्वास्थ्य परीक्षणको मान्यता दिएको थियो । यसपटक पुराना दुई सय पाँच र नयाँ एक सय स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षणका लागि आवेदन गरेको श्रम मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया