रहर होइन, हौसलाले श्रोतासम्म आएकी हुँ

Padma-Linkha-Magarजन्मथलो संखुवासभाको माम्लिङ भई रूकुमको झुम्लावाङलाई कर्मथलो बनाएकी उदीयमान गीतकार पद्मा लिंखा मगर अमेरिकाको न्युयोर्कमा बस्छिन् । पद्माले आफ्नो पहिलो गीति एल्बम ‘नजर’ तयार पारेकी छन् । निष्ठा म्युजिकले बजारमा ल्याउन लागेको उक्त एल्बमलाई ‘नमुना गाउ’ निर्माण अभियानमा समर्पण गरेकी पद्मासँग सौर्यका लागि गरिएको कुराकानीको सम्पादित अंश ।
सांगीतिक यात्राबारे केही सुनाइदिनोस् न ?
यो यात्रा मेरो खासै लामो होइन । स्कुले जीवनमा दाजुले साहित्य गोष्ठीमा कविता लेख्न सिकाउनुभयो । त्यतिबेलादेखि नै म बाल–कविता र कहिलेकाहीँ गीत पनि लेख्थेँ । भने साहित्यिक कार्यक्रममा म छुट्दिनथेँ र प्रतिस्पर्धामा पुरस्कार पनि जित्थेँ । कलेज लागेपछि भने मेरो लेख साथी र गुरुहरूबीच पनि नपुगेर ममै सीमित रह्यो । अमेरिका आएपछि घर र देशको सम्झनाले सताउन थाल्यो । फेरि लेख्न थालेँ । दुर्लभजी (मेरा श्रीमान्)लेगीत रेकर्ड गराऊ भन्नुभयो । सुरुमा त उहाँको प्रस्ताव मलाई ठट्यौलो लागे पनि संगीतकार राजेश थापाले गीत राम्रो भन् पछि गीत लेखन अगाडि बढाए ।
एल्बमै तयार पार्ने सोच कसरी आयो?
यसका लागि संगीतकार राजेश थापाज्यूबाट प्रेरित भएको हुँ । उहाँले एल्बम निकाल्दा एउटा कृति जन्मन्छ भन्ने सुझाव दिएपछि झुम्लावाङ भिलेज फाउन्डेसनद्वारा दिगो विकासका लागि झुम्लावाङलाई ‘नमुना गाउँ’ बनाउन भइरहेको आयोजनामध्ये झुम्लावाङ सामुदायिक स्वास्थ्य केन्द्रका लागि कोष स्थापना गर्न यो कृतिलाई सदुपयोग गर्न एल्बमको निष्कर्षमा पुग्याँ ।
एल्बमको बिक्री रकम गाउँको विकासमा लगानी गर्ने योजना रहेछ । समाजसेवातिर कसरी मन गयो ?
यो आफ्नै गाउँको विकासका लागि हो । यसबाट समाजसेवा गरेजस्तो नै त लाग्दैन । यो कर्तव्यै हो । समाजसेवा गर्न त आफू क्षमतावान् पनि हुनुपर्‍यो । म गाउँमै जन्मे–हुर्केको भएकाले गाउँको समस्याबारे जानकार छु । यी समस्यालाई फाउन्डेसनले केही हदसम्म सरल बनाओस् भन्ने हाम्रो सोच हो ।
जन्मथलो भन्दा पनि कर्मथलोको विकासमा लागिपर्नुभएछ नि ?
म एक नेपाली छोरी हुँ । नेपाली हुनुमा मलाई गर्व छ । सबै नेपालीको चाहना देश विकासमा सक्दो योगदान दिने हुन्छ । रूकुममै प्राथमिकतामा पर्नुका कारणचाहिँ जहाँ बढी आवश्यकता छ त्यहाँ नै आँखा पर्ने रहेछ । मेरो जन्मथलोमा ३१/३२ वर्षदेखि सरकारी स्वास्थ्य केन्द्र सञ्चालनमा छ । रुकुममा सामान्य उपचारका लागि पनि सदरमुकाम आउनै एक दिनभन्दा बढी लाग्छ । राम्रो उपचार गराउन दाङ, नेपालगन्ज वा काठमाडौं आउनुपर्ने हुन्छ । त्यसैले यो ठाउँ प्राथमिकतामा परेको हो ।
एल्बममार्फत झुम्लावाङको विकासमा कति रकम सहयोग गर्नुहुन्छ त ?
अहिले यति नै भनेर निश्चित नगरौँ । हजारप्रति सिडी बिक्री गर्ने सोच छ । श्रोता र शुभचिन्तकबाट सिडी खरिद र बिक्री, सिआरबिटी अनि पिआरबिटीबाट जम्मा हुने सबै रकम फाउन्डेसनलाई एक वर्षपछि हस्तान्तरण गरिनेछ । मेरो बुझाइमा रकमभन्दा सन्देश बढी महत्त्वपूर्ण हो ।
अचेल एल्बमको बिक्री ठप्प छ । एल्बम बेचेर आर्थिक सहयोग जुटाउनु चुनौती होइन र ?
एल्बम आर्थिक नाफा–घाटासँग सम्बन्धित छैन । सन्देश नै हाम्रो नाफा हो । एल्बम हजार कपी बिक्नुभन्दा ठूलो यसबाट प्रेरित भएर झुम्लावाङमा भएजस्तै अरू पनि गाउँ विकासमा लागे त्यो हाम्रा लागि ठूलो उपलब्धि हुनेछ । त्यसैले एल्बमलाई मैले आर्थिक सहयोग गर्ने माध्यमका रूपमा मात्र नलिई सन्देश दिने अवसरका रूपमा लिएको छु ।
संगीतकार र गायकको छायामा गीतकार पर्छन् भनिन्छ, तपाईंलाई के लाग्छ ?
म यस क्षेत्रमा नितान्त नयाँ व्यक्ति हँु । मेरो विचारमा कसको नाम आयो भन्दा पनि सिर्जना कस्तो भयो भन्ने महत्त्वपूर्ण हो । शब्द, संगीत र स्वर एकअर्काका प्रतिस्पर्धी नभएर परिपूरक हुन् । जसको नाम आए पनि र जो छायामा परे पनि सिर्जनाचाहिँ छायामा नपरे त्यसैमा म रमाउँछु ।
एल्बम प्रकाशनलाई निरन्तरता दिनुहुन्छ कि या रहर पूरा भयो भनेर चित्त बुझाउनुहुन्छ ?
एल्बमको सोच रहरभन्दा पनि धेरै त हौसलाबाट आएको हो । संगीतकार राजेश थापाज्यू, दुर्लभजी तथा परिवारका सम्पूर्ण सदस्य, झुम्लावाङ गाउँ संस्थापना अनि सबैको हौसला र सहयोगले यो एल्बम छोटो समयमा निकाल्न सफल भएकी हुँ। यसलाई निरन्तरता पक्कै दिनेछु । अहिले मेरा केही फुटकर गीत रेकर्ड भएका छन् भने केही हुने क्रममा छन् ।

प्रतिक्रिया