सुरक्षा निकाय हाइअलर्टमा

deukhuriदेउखुरी, ८ असार । गत वर्ष देउखुरीमा आएको बाढीका कारण उद्धारमा संलग्न एक जना सशस्त्र प्रहरी र तीन जना सर्वसाधारणको ज्यान गयो । उद्धारमा खटिएका सुरक्षाकर्मीसँग उद्धार सामग्रीको अभाव हुँदा खोलामा डुबेर ज्यान गएको थियो । यस वर्ष पनि वर्षायाम सुरु भइसकेको छ । तर, जिल्लामा अझै उद्धार सामग्रीको अभाव छ ।

सामान्य उद्धार सामग्री ल्याइफ ज्याकेट, टियुब र डोरीबाहेक अन्य सामग्री छैन् । यी सामग्री पनि प्रयाप्त छैनन् । जिल्लामा दैवी प्रकोपका बेला उद्धारमा चाहिने सामग्रीको अभाव रहेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक रविलाल पन्थले जानकारी दिए ।
उनका अनुसार जिल्लामा सामान्य उद्धार सामग्री बाहेक अरू सामग्री छैन । ‘उद्धार सामग्रीकै अभाव छ,’ उनले भने, ‘हामीसँग जति थियो सबै सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय अर्जुन खोलामा स्टोर गरेर राखेका छौँ ।’ लाइफ ज्याकेट, टियुब, डोरी, सेल्टर गरेर बस्न चाहिने केही ग्यास राखिएको छ । ‘प्रर्याप्त मात्रामा सामग्री नभए पनि हामीसँग भएजति पनि सामग्री छन् त्यसलाई एकीकृत गरेका छौँ,’ पन्थले भने, ‘अहिले हाम्रो ध्यान देउखुरीमा केन्द्रित छ ।’
सामग्री अभाव रहेको भन्दै जिल्लामा रहेका संघ संस्थाहरूबाट सहयोग संकलन जारी राखेको पनि पन्थले जानकारी दिए । ‘सामग्रीको अभाव भएपछि त्यसको संकलनमा विभिन्न संघसंस्थासँग आग्रह गरेका छौँ,’ उनले भने, ‘सामग्री संकलन गर्ने तयारीमा छौँ ।’ गत वर्ष आएको बाढीले बढी क्षती देउखुरीमा पुर्‍याएको भन्दै पन्थले सबै शक्ति देउखुरीमा परिचालन गरिएको बताए । ‘हाम्रो जति पनि साधन स्रोत छ । सबै देउखुरी केन्द्रित छ,’ उनले भने, ‘पानी पर्न थाल्दादेखि नै हाम्रो शक्ति परिचालित हुन्छ ।’
गतवर्ष बाढीका कारण व्यापक धनजनको क्षती भएपछि यस वर्ष क्षती कम गर्न उच्चसतर्ककता अपनाइएको दाङका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए । ‘जिल्लामा दैविप्रकोप उद्धार कार्यलाई मध्यनजर गर्दै उच्चसतर्ककता अपनाइएको छ,’ प्रजिअ पन्थले भने, ‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी चौबिसै घन्टा हाइ एलर्टमा छन् ।’ बाढीबाट हुने क्षती न्यूनीकरण गर्न होसियारी अपनाइएको छ । ‘पहाडी क्षेत्रमा पानी परेको थाहा पाउने बित्तिकै सुरक्षानिकायलाई हाइएलर्ट हुन निर्देशन दिइएको छ,’ पन्थले भने, ‘अहिले मुख्य ध्यान भनेकै क्षती कम गर्न केन्द्रित छ ।’ यस वर्ष देउखुरीका प्रभावित क्षेत्रमा एक हजार मिटर क्षेत्रमा तारजाली र तटबन्ध गर्ने काम भएको छ । चैलाही, सतवरीया, सिसहनीयाको दोलइ खोलालगायका स्थानमा तटबन्ध, स्पर बाँध्ने काम भएको छ ।
उद्धार सामग्री सामान्य मात्र
बाढी पहिरो तथा दैवी प्रकोप उद्धारका लागि चाहिने सामग्री जिल्लामा सामान्य प्रकारमा नगन्य मात्रामा छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय अर्जुन खोलामा पाँच सय मिटर डोरी, दश थान लाइफ ज्याकेट, १० थान बेल्चा, ६ थान सब्बल, तीनवटा टियुब, फायर सिलिन्डर, दश थान टर्च छन् । ‘हामीसँग भएका सामग्री यी नै हुनु,’ डिएसपी जीवन भण्डारीले भने, ‘नहुनु भन्दा ठीकै मात्रामा छ ।’ उद्धारका क्रममा चाहिने सामग्रीको अभाव रहेको उनले बताए । ‘मोटर बोट, रवर बोट, स्टिमरलगायतका सामग्री छैनन्,’ भण्डारीले भने, ‘यी सबै सामग्री राज्यले व्यवस्था गरे उद्धारमा सजिलो हुने थियो ।’ सामग्रीको अभाव भए पनि चाहिने जनशक्ति भने प्रयाप्त रहेको भण्डारीले बताए । ‘उद्धारमा चाहिने सामग्री कम भए पनि जनशक्ति बढी छ,’ उनले भने, ‘जनशक्तिलाई चाहिने सामग्री कम छ ।’ यस्तै नेपाली सेना तारादल गण अर्जुन खोलामा पनि उद्धारका सामग्री राखिएका छन् । दश थान लाइफ ज्याकेट, पाँच थान टियुब, नदी पार गर्न चाहिने रोप तीन थान मात्र छ । ‘सामग्री अभाव भए पनि थपसामग्री केन्द्रमा माग गरिएको छ,’ तारादल गण अर्जुनखोलाका क्याप्टेन कोकिल प्रजाले भने, ‘स्वीकृत भएर सामग्री आउँदै छ ।’ बाढी पहिरो दैवी प्रकोपका क्रममा उद्धारमा खट्न नेपाली सेना एलर्टमा रहेको उनले बताए । ‘हामी उद्धारमा खटिन हाइअलर्टमा छौँ,’ प्रजाले भने, ‘चौबिसै घन्टा उद्धारमा खटिन तयार छौँ ।’
देखुरीका दर्जनौँ गाउँ उच्चजोखिममा
राप्ती नदी र आसपासका खहरे खोलाका कारण देउखुरीका १० गाविसका दर्जनौँ गाउँ उच्चजोखिममा छन् । राप्ती नदीले छोएका गोबरडिहा, गंगापरस्पुर, गढवा, बेला, राजपुर, सतवरीया, चैलाही, सोनपुर, सिसहनीया, लालमटीया गाविसका दर्जनौँ गाउँ जोखिममा छन् ।
प्रभावित क्षेत्रमा पूर्वसचेतना
देउखुरीका बाढी प्रभावित क्षेत्रमा पूर्वचेतना दिन सचेतना अभियान सञ्चालन गरिएको छ । अपांग मानवअधिकार सरोकार मञ्चले लालमटीया र सोनपुर गाविसका १० गाउँमा यस खाले सचेतना अभियान चलाएको हो । बाढीबाट बच्ने उपाए, बाढीमा फसेकाको उद्धार, आकास्मिक स्वास्थ्यपचार, उद्धार क्षमता वृद्धिलगायतका सीप स्थानीय प्रभावित क्षेत्रकावासिन्दालाई प्रदान गरिन थालिएको छ । ‘बाढीबाट बढी प्रभावित क्षेत्रमा सचेतना कक्षा सञ्चालन गरिरहेका छौँ,’ अपांग मानवअधिकार सरोकार मञ्च दाङका प्रबन्धक चिन्तामणि पौडेलले भने, ‘यस परियोजनाबाट स्थानीयवासिन्दालाई प्रकोपबाट जोगिन अभ्यास पनि गराइन्छ ।’ बाढी प्रभावित क्षेत्रमा समुदायमा जोखिम न्यूनीकरण सम्बन्धी परियोजना १६ महिना सञ्चालन गरिने भएको छ । यसअघि यस्तै अभियान चैलाही, सतवरीया, बेला, सिसहनीया र गोवरडिहामा सञ्चालन गरिएको थियो । गाउँ–गाउँमा उद्धार समिति छन् । उनीहरू नै बाढीमा फसेका व्यक्तिलाई उद्धार गर्न लाइफ जाकेट, डोरी, डुंगाको साहेतामा सहभागी हुन्छन् । यसैबीच, शुक्रबार सोनपुर गाविसभित्र रहेका सरोकारवाला निकायबीच विपद् जोखिम न्यूनीकरण परियोजनाबारे जानकारी गराइएको छ । गाविस सचिव श्रीलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अपांग मानवअधिकार सरोकार मञ्चका प्रबन्धक चिन्तामणि पौडेलले परियोजनाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया