पत्रकार पन्तलाई सात दिन म्याद थप

काठमाडौं, ८ असार । साइबर अपराधको अभियोगमा पक्राउ परेका पत्रकार सुशील पन्तलाई थप अनुसन्धानका लागि भन्दै अदालतले सात दिनको म्याद थपेको छ । पत्रकार पन्तलाई महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो ।

पन्तलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । प्रहरीका अनुसार पत्रकार पन्तलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा चलाइएको छ । महाशाखाका डिएसपी सुरेन्द्र मैनालीले इन्टरनेटमार्फत अमर्यादित सामग्री सम्प्रेषण गरिएको पाइएकाले पन्तलाई पक्राउ गरिएको बताए ।
‘पन्तविरुद्ध सात दिनको म्याद थप भएको छ । उनले इन्टरनेटमार्फत अभद्र र अमर्यादित सामग्री सम्प्रेषण गरेको पाइयो । यसले विद्युतीय कारोबार ऐन २०६३ अकर्षित गर्छ । त्यही आधारमा उनलाई पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।
प्रहरीका अनुसार डिल्ली बजारस्थित कन्या क्याम्पसका प्रमुख भोलानाथ रेग्मीले ‘एक्स्ट्रा खबर डटकम’ नामको अनलाइनमा ‘कन्या क्याम्पसको शैचालयमा भन्टा भेटियो’ शीर्षकको समाचार प्रकाशित भएपछि प्रहरीमा उजुरी हालेका थिए । अनुसन्धानका क्रममा प्रहरीले ‘एक्स्ट्रा खबर डटकम’का सञ्चालक पुस्कर कँडेललाई पक्राउ गरेको थियो । २७ जेठमा पक्राउ परेका कँडेलले उक्त समाचार नेपाली हेडलाइन्स डटकमबाट साभार गरेको बताएपछि पन्तलाई पक्राउ गरिएको हो । पन्त नेपाली हेडलाइन्स डटकमका समाचार सम्पादक हुन् भने गुल्मीका सन्तोष भट्टाराई सञ्चालक हुन् ।
सर्वत्र विरोध
समाचार लेखेका आधारमा पत्रकार पक्राउ गरेर मुद्दा चलाइएको भन्दै नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, आदिवासी जनजाति पत्रकार महासंघ
(फोनिज), संसदीय मामिला पत्रकार समाजलगायत विभिन्न संघसंस्थाले विरोध गरेका छन् ।
गोरखा एफएम प्रतिष्ठान शाखाका अध्यक्षसमेत रहेका पत्रकार पन्तलाई पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘कुनै पनि सञ्चारमाध्यममा सम्प्रेषित सामग्रीबारे उजुरी हेर्ने निकाय प्रहरी प्रशासन नभएर नेपाल प्रेस काउन्सिल रहेकोतर्फ महासंघ सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सम्प्रेषित समाचार सामग्रीबारे चित्त नबुझे अपनाउनुपर्ने कानुनी तथा प्रचलित विधिलाई छाडेर पत्रकार पक्राउ गरिएको घटनाप्रति महासंघले खेद व्यक्त गर्दछ,’ महासंघका कार्यबाहक महासचिव जगत् नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, फोनिजले विज्ञप्ति निकाल्दै पत्रकार पक्राउको विरोध गरेको छ । फोनिजले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेकै आधारमा कुनै पनि पत्रकारलाई पक्राउ गर्ने कार्यप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) घोर भत्र्सना गर्दछ ।’

प्रतिक्रिया