रेग्मीद्वारा दाहाल र पौडेलसँग परामर्श

Khilraj-Regmi'sकाठमाडौं, ७ असार । सुदूरपश्चिमको बाढी/पहिरोको विनासलाई लिएर मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलले अलग/अलग परामर्श गरेका छन् ।
बालुवाटारमा आज (शुक्रबार) भएका भेटमा पीडित परिवारलाई राहत र पुन: निर्माणका विषयमा कुराकानी भएको हो । बाढी/पहिरोका साथै मुलुकको पछिल्लो राजनीतिक अवस्था र असन्तुष्ट दलहरुलाई बार्ता मार्फत चुनावमा सहभागी बनाउने विषयमा कुराकानी भएको थियो ।
एमाओवादी अध्यक्ष दाहालले दार्चुला जिल्लाको सदरमुकाम खलंगाका पीडित परिवारलाई उचित राहन दिन माग गरेको रेग्मीको निजी सचिवालयले जनाएको छ । दाहालले पीडित परिवारलाई राहत अप्रयाप्त रहेको भन्दै कम्तीमा एकलाखसम्म उपलब्ध गराउन माग गरेका छन् ।
बाढी/पहिरोबाट प्रभावित सबै जिल्लाका पीडितले उचित सहयोग पाउनुपर्ने दाहालको माग थियो ।
त्यसै गरी, कांग्रेस उपसभापति पौडेलले पनि दार्चुला, कैलाली, कञ्चनपुरका बाढी/पहिरो पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन सुझाव दिए । उनले राहत वितरण र उद्दारमा कुनै विलम्ब नगर्न आग्रह गरे ।

प्रतिक्रिया