दार्चुलालाई ५० करोड दिने रेग्मीको घोषणा

Khilraj-Regmi's

दार्चुला, ७ असार । अविरल बर्षासंगै महाकाली नदीमा आएको बाढीबाट नराम्ररी प्रभावित भएको दार्चुला जिल्लाको विकासका लागि सरकारले आगामी बजेटमार्फत ५० करोड रुपियाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
महाकाली नदीको बाढीले पुर्‍याएको क्षतिबारे स्थलगत निरीक्षण गर्न गएका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आज (बिहीबार) दार्चुलाको पुन:र्निमाणका लागि ५० करोड उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले बजेट कार्यान्वयनका लागि गुरुयोजना बनाउनसमेत स्थानीय राजनीतिक दललगायत नागरिक समाज तथा सर्वसाधारणलाई आग्रह गरे ।
महाकाली नदीमा तटबन्ध बनाउने, भत्किएको सडक निर्माण तथा विस्थापितलाई पुन:स्थापित गर्न रकम उपलब्ध गराईने रेग्मीले बताए । उनले तत्काल बिस्थापित परिवारलाई ३५ हजार रुपियाँका दरले उपलब्ध गराउने आश्वासन दिए ।
उनले भारतले धौलीगंगामा बाँध खोलेको विषयमा अनुसन्धान गर्ने बताए । स्थानीयले भारतले बिना जानकारी मध्यरातमा बाँध खोलेकै कारण दार्चुलाको सदरमुकाम खलंगा बगेको दाबी गर्दै आएका छन् । भारतीय पक्षले आरोप अस्वीकार गर्दै आएको छ ।
नदीको कटाले खलंगामा रहेका एकदर्जन सरकारी कार्यालयका साथै झण्डै एकसय घर बगाएको थियो ।

प्रतिक्रिया