तीन दूध डेरीमा सिलबन्दी

भक्तपुर, ६ असार । भक्तपुरका तीनवटा दूध उत्पादन डेरीमा केन्द्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार सिलबन्दी गरेको छ ।

दैनिक प्रयोग गर्ने दूधमा दिसामा पाइने परजीवी (कोलिफर्म) पाइएपछि केन्द्रीय खाद्य प्रविधि तथा गुण नियन्यण विभागले ती उद्योगमा सिलबन्दी गरेको हो । सिलबन्दी भएका उद्योगमा भक्तपुर औद्योगिक क्षेत्रमा अवस्थित भक्तपुर डेरी प्राली, बागिश्वरी–२ मा सञ्चालित सैँजु डेरी र छालिङमा रहेको खरीपाटी डेरी रहेका छन् । विभागले गत साता उपत्यकामा भएका दूध डेरीहरूको पाकेटको दूध परीक्षण गर्दा कोलिर्फम नामक परिजीवी भेटिएपछि अनुगमन सुरु गरेको हो ।
मानव स्वास्थ्यमा असर गर्ने र झाडा पखाला, आउँ, हैजालगायत रोग सार्ने जीवाणु दूधको पाकेटमा फेला परेपछि विभागले सिलबन्दी गरी कारबाहीको दायरामा ल्याउन लागेको विभागका गोपालप्रसाद चतुर्वेदीले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणमा खरिपाटी डेरीको गायत्री दूध र गायत्री प्लस यसै गरी सैँजु डेरीको अमृत र कान्तिपुर ब्रान्ड, भक्तपुर डेरी बिडिपिएल ब्रान्डका दूध उत्पादन र बजारमा बिक्रीवितरणमा रोक लगाएको छ ।
खरिपाटी डेरीमा बुधबार दिउँसो सिलबन्दी गर्न पुगेको टोलीमाथि स्थानीयवासीले सिलबन्दी गर्न रोक लगाएका थिए । आफूले उत्पादन गरेको दूध डेरी बन्द भएका खण्डमा खेर जाने भन्दै स्थानीयवासीले २ घन्टासम्म अनुगमन टोलीलाई भित्र जान रोकेका थिए । भक्तपुरमा सिलबन्दी गरेका डेरीको दूधमा प्रतिमिलिटर दुई हजार चार सय वटा कोलिर्फम भेटिएको विभागले जनाएको छ ।
‘दूध उद्योगीमाथिको धरपकड रोक’
काठमाडौं । नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले दूध उद्योगी माथि राज्य पक्षले गर्दै आएको धरपडक रोक्न माग गरेको छ । सरकारी स्वामित्वको डेरीमा अनुगमन नै नगरी निजी दूध डेरीमाथि मात्रै कोलिफर्म देखिएको भन्दै सरकारले एकतर्फी रूपमा कारबाही गरेकोमा असन्तोष व्यक्त गर्दै एसोसिएसन र संघले राजधानीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरी त्यस्तो माग गरेका हुन् ।
एसोसिएसनका अध्यक्ष मेघराज भण्डारीले ५ वटा कोलिफर्मध्ये २ वटा मात्र हानिकारक भएको भन्दै सबैलाई एउटै दृष्टिले हेर्न नहुने बताए । त्यसैगरी, संघका अध्यक्ष प्रदीप महर्जनले कोलिफर्म देखिने सबैलाई समान कारबाही गर्नुपर्नेमा राज्यले त्यस्तो नगरी आफूखुसी कारबाही गर्ने गरेकोमा जोड दिए । उनले भने, ‘१ देखिए पनि २ हजार ४ सय देखिए पनि सबैलाई समान कारबाही गर्नुपर्छ ।’ तर, राज्यले त्यस्तो नगरेकोमा उनको गम्भीर असन्तुष्टि थियो ।
नेपाल मात्रै नभई भारतमा पनि दूधमा कोलिफर्मको मात्रा १० हुने गरेको जानकारी सो अवसरमा दिइयो । त्यसैगरी, निजी, सरकारी वा सहकारीका डेरीको दूधको स्रोत, प्रशोधन प्रक्रियालगायत बिक्री वितरण प्रक्रिया एकैनासको भएको तर कारबाही गर्दा जहिले पनि सरकारी डेरीलाई संरक्षण गरी अत्यन्त गैरजिम्मेवारीपूर्ण ढंगले निजी डेरी उद्योगलाई विभागमा दर्ता र खाद्य प्रविधि तथा गुण नियन्त्रत्रण विभागबाट अनुज्ञापत्र दिएको डेरीलाई मात्र लक्षित गरी उत्पादन नै बन्द गर्ने कार्यको उनीहरूले घोर भत्सर्ना गरे । राज्य पक्षले कोलिफर्मको विषयलाई लिएर निजी दूध डेरी बन्द गर्ने हो भने दसौँ अर्बको लागनी, यसमा आश्रित ४ लाख ५० हजार कृषक परिवार र दूध संकलन , प्रसोधन र बिक्री वितरणमा संलग्न १२ हजार व्यक्तिको रोजगारी गुम्ने चेतावनी पनि व्यवसायीले दिएका छन् ।

प्रतिक्रिया