करोडौको लगानीमा स्यालो टयुबेल जडान

Nalkiविराटनगर : भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालय विराटनगरद्वारा सञ्चालन गरिएको भूमिगत स्यालो टयुबेल जडान एवं निर्माणबाट किसान लाभान्वित भएका छन् । समितिले झापा, मोरङ सुनसरी र इलाममा एक हजार ७५ स्यालो टयुबेल जडान गर्ने लक्ष्य राखेकोमा जेठ मसान्तसम्म आठ सय १० वटा स्यालो टयुबेल जडान गरेको छ । यसबाट दुई हजार २४ हेक्टर सिँचाइ सुविधा उपलब्ध भएको छ । स्यालो टयुबेल जडानमा करिब तीन करोड रुपियाँ खर्च भएको अनुमान गरिएको छ । जसअन्तर्गत झापामा तीन सय ५०, मोरङमा ५१, सुनसरीमा दुई सय १५ र इलाममा ५० वटा स्यालो टयुबेल जडान गरिएको कार्यालयका प्रमुख सुरेन्द्रमान शाक्यले बताए । स्यालो टयुबेल जडान भइसकेपछि झापामा आठ सय ७५ हेक्टर, मोरङमा चार सय ८७ दशमलव पाँच हेक्टर, सुनसरीमा पाँच सय ३७ दशमलव पाँच हेक्टर र इलाममा एक सय २५ हेक्टर क्षेत्रफल जग्गा सिञ्चित भएको छ । स्यालो टयुबेल जडान कार्य सम्पन्न भएपछि झापा, मोरङ, सुनसरी र इलामका निकै किसान लाभान्वित भएका छन् । सिँचाइ सेवा उपलब्ध भएपछि किसानको बेमौसमी तरकारीखेती उत्पादनमा समेत वृद्धि भएको छ । ग्रामीण तथा सहरी क्षेत्रमा उक्त टयुबेलको पानी पिउनका लागि समेत प्रयोग भइरहेको छ ।

प्रतिक्रिया