कालीगण्डकीमा स्टिमर सेवा बन्द

स्याङ्जा : पश्चिम स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा सञ्चालित जल यातायात स्टिमर सेवा कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

मिर्मीस्थित अाँधीमुहानदेखि स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी शिलासम्मको सात किलोमिटर जलयात्रा कालीगण्डकी नदीमा पानीको बहाव तीव्र बन्दै गएपछि बन्द गरिएको शिला शालीग्राम कालीगण्डकी जल यातायात व्यवसायी समितिका अध्यक्ष चन्द्रबहादुर रानाले बताए ।
‘कालीगण्डकी नदीमा पानीको बहाव धेरै भएकाले कालीगण्डकी ‘ए’ जलविद्युत् गृहको बाँधका ढोका सबै खोलिएका छन्,’ अध्यक्ष रानाले भने, ‘स्टिमरको सुरक्षाका लागि सेवा नै बन्द गरिएको हो ।’
बन्द भएको जल, यातायात सेवा हिउँद लागेपछि मात्रै सञ्चालनमा ल्याउन सकिने अध्यक्ष राना बताउँछन् । स्टिमर बन्द भएपछि स्याङ्जा, पर्वत, बाग्लुङ र गुल्मीका दुई दर्जनभन्दा बढी गाविसका स्थानीय बासिन्दा प्रभावित भएका छन् । कालीगण्डकीको मिर्मीदेखि सेतीवेणीसम्मका लागि साना–ठूला गरी १० वटा स्टिमर सञ्चालनमा आएका थिए ।

प्रतिक्रिया