भारतद्वारा पाकिस्तान पराजित

नयाँदिल्ली : च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा शनिबार पाकिस्तानलाई आठा विकेटले हराउँदै भारत समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । समूहका सबै खेलमा विजयी हुने क्रममा भारतले यस प्रतियोगिताको इतिहासमा पहिलोपटक पाकिस्तानलाई हराएको हो । वर्षाले प्रभावित भएको यस खेलमा पहिला ब्याटिङ गरेको पाकिस्तानले ३९.४ ओभरमा १६५ रन रन जोडेको थियो । भारतले डकवर्थ लुइस नियमका आधारमा २२ ओभरमा पूरा गर्नुपर्ने १०२ रनको लक्ष्य १९.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा पछिल्ला दुई खेलमा शतक बनाएका प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले यस पटक ४८ रन जोडे । त्यस्तै, रोहित शर्माले १८ रन बनाए । विराट कोहली नटआउट २२ र दिनेश कात्तिक नटआउट ११ रनमा रहे । पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेको भारतले जितको बलियो सम्भावना देखाएको थियो । बलिङतर्फ पाकिस्तानका सइद अजमल र वाहब रियाजले समान एक विकेट लिए ।
यसअघि अघिल्ला दुई खेलमा जस्तै यसपटक पनि पाकिस्तानको बलिङ जम्न सकेन । असाद सफिकले सर्वाधिक ४१ रन बनाए । मोहम्मद हाफिज २७, कमरान अकमल २१, मिसवाह उलहक २२ र उमर अमिनले २७ रनको योगदान गरे । नासिर जम्सेदले २ रन मात्र जोडे । बलिङतर्फ भारतका भुवनेश्वर कुमार, इसान्त शर्मा, रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाले समान दुई विकेट लिए । भुवनेश्वर म्यान अफ दि म्याच भए । लगातार दुई खेलमा विजयी हुँदै भारत पाकिस्तानसँगको खेल बाँकी छँदै सेमिफाइनल प्रवेश गरेको थियो । पाकिस्तान भने लगातार दुई खेलमा पराजित हुँदै भारतसँगको खेलपूर्व नै समूह चरणबाट बाहिरिने निश्चित भएको थियो । वर्षाले प्रभावित हुनुका साथै दुवैका लागि औपचारिक मात्र भएकाले यस खेल अपेक्षाकृत रहन सकेन । भारतको समूहबाट दक्षिण अफ्रिका उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरिसकेको छ । अर्को समूहमा भने चारवटै टोली श्रीलंका, अस्ट्रेलिया, न्युजिल्यान्ड र इंल्यान्डको सम्भावना रहेको छ । (एजेन्सी)

प्रतिक्रिया