चिनी मिलद्वारा ६७ करोड भुक्तानी

sugarविराटनगर : सुनसरीको अमाहीबेलाहमा रहेको इस्टर्न सुगर मिलले उखु किसानबाट खरिद गरेको उखुबापतको ६७ करोड रकम भुक्तानी गरेको छ । सुनसरी र मोरङका किसानबाट यस वर्ष १९ लाख ३४ हजार क्विन्टल उखु खरिद गरेको जसको भुक्तानी ९३ करोड रुपियाँ तिर्नुपर्नेमा जेठसम्म ६७ करोड भुक्तानी गरेको मिलका उखु प्रबन्धक सुरेश मेहताले जानकारी दिए ।
गत ८ वैशाखसम्म उखु खरिद गरी चिनी पेलान बन्द भएको सो मिलले प्रत्येक उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम प्रतिकिस्ता ३७ प्रतिशतका आधारमा रकम भुक्तानी गर्दै आएको छ ।
सुनसरी र मोरङका कुल खेतीयोग्य जमिनमध्ये यस वर्ष आठ हजार हेक्टरमा उखुखेती गरिएको छ । उखु किसानको प्रोत्साहनका लागि नेपाल औद्योगिक विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरले गत वर्ष उखु खेतीका लागि किसानलाई तीन करोड ऋण उपलब्ध गराएको मिलले जनाएको छ ।
ऋणको व्यवस्था भएपछि किसान प्रोत्साहित भई अहिले सुनसरी र मोरङमा ११ हजार बिघा जमिनमा उखुखेती सुरु गरिएको छ । गत वर्ष मोरङ र सुनसरीमा १३ लाख ७४ हजार क्विन्टल उखुखेती भई मिलमा चिनी उत्पादका लागि ल्याइएको थियो ।
यो वर्ष करिब ६ लाख क्विन्टल उखु अत्यधिक उत्पादन भएको थियो । एक क्विन्टल उखुमा करिब नौ केजी चिनी उत्पादन हुने गरेको छ । मिलले किसानलाई प्रतिक्विन्टल उखु खरिदबापत ४ सय ८१ भुक्तानी दिने गरेको बुझिएको छ । गोल्छा अर्गनाइजेसनद्वारा सञ्चालित पूर्वाञ्चलमा यो एक मात्र चिनी मिल रहेको छ ।

प्रतिक्रिया