मनाङ–मस्र्याङ्दीलाई उपाधि

mmcकाठमाडौं, २ असार । युवा मिडफिल्डर सुलभ मास्केको ह्याट्रिकसँगै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ४–१ ले पराजित गर्दै शनिबार मनाङ मस्र्याङदी क्लब (एमएमसी) ले दशरथ रंगशालामा जारी गोर्खा कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । एमएमसीले उपाधिसँगै १० लाख रुपियाँ नगद पुरस्कार पनि जित्यो । मनाङका लागि चौथो गोल अनिल गुरुङले गरे ।

पछिल्ला तीनमध्ये दुई संस्करणमा मनाङ फाइनल पुगे पनि थ्री–स्टारसँग पराजित भएको थियो । एन्फाले आयोजनाको जिम्मा लिएयता ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्न थालेको गोर्खा कपमा थ्री–स्टार दुईपटक र नेपाल पुलिस (साविक विजेता) एकपटक विजेता बनेका छन् ।
पछिल्लो समय राम्रो लयमा रहेको मनाङले राजधानीमा लगातार दोस्रो नकआउट फुटबल प्रतियोगिता जितेको हो । यसअघि राजधानीमा पछिल्लोपटक आयोजित नकआउट फुटबल प्रतियोगिता एनसेल कप मनाङले फाइनलमा रानीपोखरी कर्नर टिम (आरसिटी)लाई हराउँदै जितेको थियो । त्यसपछि आयोजित सहिद स्मारक ए डिभिजन लिगमा मनाङ दोस्रो भएको थियो ।
योना एलियासले सेमिफाइनलमा रातो कार्ड पाएपछि फाइनलमा पहिलो रोजाइमै उत्रने मौका पाएका सुलभले आठौँ मिनेटमा मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । शिव श्रेष्ठको क्रसमा गोलकिपर फुलबहादुर लामा बिट भएपछि सेकेन्ड बारमा रहेका सुलभले पर्फेक्ट फिनिसिङ गरे । ८९औँ मिनेटमा करिब ३० यार्ड टाढाबाट गोल गर्दै सुलभले ह्याट्रिक पूरा गुर्नअघि उनको दोस्रो गोल पनि पहिलो जस्तै रह्यो । रूपेश केसीको क्रसमा गोलकिपर बिट भएपछि सेकेन्ड बारमा रहेका सुलभले ४८औँ मिनेटमा गोल थप्दै मनाङलाई ३–१ ले अगाडि बढाए ।
अनिल गुरुङले डी–बक्सको एजबाट सेकेन्ड बारमा सानदार गोल गरेपछि १७औँ मिनेटमा २–० ले अगाडि बढेको मनाङविरुद्ध आर्मीले २९औँ मिनेटमा काशीराज कार्कीमार्फत गोल गर्दै खेल २–१ को स्थितिमा ल्याइपुर्‍याए पनि सुलभको दोस्रो गोलपछि आर्मी जितबाट टाढिएझैँ भयो ।
दोस्रो हाफमा राजु तामाङको प्रहार साइड बारमा लागेर फर्किनु र टंक बस्नेत वन भर्सेस वनमा असफल हुनुले मनाङको सम्भावना थप बलियो बनेको थियो । फिनिसिङमा बलियो देखिएको मनाङको रक्षापंक्ति खेलभर विपक्षीलाई टाउको दुखाइ बनेको थियो । ‘मेरा खेलाडीको क्षमतामा मलाई विश्वास थियो । टिम गेम खेल्न सिकाएको थिएँ, सफल भयौँ,’ मनाङका प्रशिक्षक अमृत पन्तले जितपछि भने ।
प्रतियोगिताका सर्वोत्कृष्ट विधामा आर्मी र मनाङ हाबी रहे । नेपाल आर्मीका स्ट्राइकर टंक बस्नेत प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । २३ वर्षीय बस्नेतले यमाहा मोटरसाइकल पाए । त्यस्तै आर्मीकै टेकबहादुर बुढाथोकी सर्वोत्कृष्ट मिडफिल्डर र काशीराज कार्की सर्वोत्कृष्ट स्ट्राइकर भए । मनाङका विशाल श्रेष्ठ सर्वोत्कृष्ट गोलकिपर र कप्तान सागर थापा सर्वोत्कृष्ट डिफेन्डर भए । मनाङकै अमृत पन्त सर्वोत्कृष्ट प्रशिक्षक भए । विधागत सर्वोत्कृष्ट खेलाडी एवं प्रशिक्षकले जनही ५० हजार रुपियाँ प्राप्त गरे ।
सर्वोत्कृष्टको कथा बेग्लै
यसपटकको गोर्खा कपमा सर्वोत्कृष्ट विधामा प्राय: कम चर्चित अनुहार हाबी भए । सागर थापाबाहेक अन्य विधामा यसअघिका प्रतियोगितामा जस्तो चलेका अनुहार नै हाबी हुने परम्परा यसपटक तोडियो ।
चोटका कारण करिब एक वर्ष मैदानबाहिर भएर फर्कने क्रममा विशाल पहिलो प्रतियोगितामै टोलीलाई उपाधि दिलाउँदै उत्कृष्ट गोलकिपर बन्न सफल भए । यसअघि मनाङ दुईपटक फाइनल पुग्दा विशाल नै गोलकिपर रहेका थिए । राष्ट्रिय टिममा समेत परिसकेका यी युवा फुटबलर उच्च फर्ममा हुँदा घाइते भएका थिए । त्यसैगरी, सर्वोत्कृष्ट स्ट्राइकर भएका काशीराज कार्कीले पहिलो प्रतियोगिता खेल्ने क्रममा नै आफ्नो पोजिसनमा सर्वोत्कृष्टको अवार्ड जिते । नयाँ खेलाडी भए पनि उनी प्राय: खेलमा पहिलो रोजाइमा उत्रिएका थिए । महत्त्वपूर्ण दुई खेलाडी भरत खवास र नवयुग श्रेष्ठको अनुपस्थितिमा पनि फाइनल पुगेको आर्मीका लागि यी युवाको श्रेय कम थिएन । उनलाई राम्रो साथ रह्यो टंक बस्नेतको जो यसपटक सर्वोत्कृष्ट खेलाडी बने र टेकबहादुर बुढाथोकी जो सर्वोत्कृष्ट मिडफिल्डर भए । राष्ट्रिय टिमबाट खेलिसकेका टंक प्लेमेकर र गोल स्कोरर दुवैरूपमा छाए । पारिवारिक समस्याका कारण आफू तत्काल राष्ट्रिय टिमका लागि सहभागी नहुने यी २३ वर्षीय विंगर एवं स्ट्राइकरले बताएका छन् ।
मनाङलाई १० वर्ष प्रशिक्षण गरेर करिब १५ वर्षपछि फेरि प्रशिक्षणमा फर्किएका ५२ वर्षीय अमृत प्रशिक्षक नभएपछि मनाङलाई अनुरोध गर्दै यस प्रतियोगितामा ‘भोलेन्टियर’ बनेका थिए । ग्यालेक्सी स्कुल/क्लबलाई समेत करिब १० वर्ष प्रशिक्षण गरेका उनी बीचमा लामो समय जनकपुरमा उखु खेती गरेर बसेका थिए । यस सफलतासँगै अमृतले फुटबलमा आफ्नो फिर्ती भएको बताएका छन् ।
तीन फुटबल अधिकारी सम्मानित
लामो समय निरन्तर फुटबलमा बिताएकोमा एसियाली फुटबल महासंघ (एएफसी)द्वारा गोल्ड मेडल अवार्डद्वारा सम्मानित तीन नेपाली फुटबलकर्मीलाई शनिबार उक्त अवार्ड प्रदान गरियो । गोर्खा कप फुटबल फाइनलका प्रमुख अतिथि राखेप सदस्यसचिव युवराज लामा र एएफसी उपाध्यक्ष तथा एन्फा अध्यक्ष गणेश थापाले उक्त पुरस्कार प्रदान गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता ललितकृष्ण श्रेष्ठ, महासचिव धीरेन्द्र प्रधान र कोषाध्यक्ष विराटजंग शाहीलाई एएफसीले उक्त अवार्ड दिने निर्णय गरेको थियो । कम्तीमा ३० वर्ष निरन्तर फुटबलमा बिताएकालाई एएफसीले यो अवार्ड प्रदान गर्ने गरेको छ ।

प्रतिक्रिया