प्रथम राष्ट्रिय विद्यालय खेलकुद जारी

Vidhyalaya-khelkudकाठमाडौं, २ असार । प्रथम राष्ट्रिय विद्यालय खेलकुद (जुनियर च्याम्पियनसिप) अन्तर्गत शनिबार करातेमा मध्यमाञ्चलको वर्चस्व रह्यो । पाँच स्वर्णको छिनोफानो हुँदा पाँचैमा मध्यमाञ्चलका खेलाडीले स्वर्ण चुमे । मध्यमाञ्चलकै चार खेलाडीले रजत पनि जिते ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ओलम्पियन सेमिकभर्डहलमा भएको पुरुष एकल कातामा मध्यमाञ्चलका निराकारमान प्रधान पहिलो, मध्यमाञ्चलकै विशाल सुवाल दोस्रो तथा पूर्वाञ्चलका मनोज विक र सुदूरपश्चिमाञ्चलका कृष्ण ठगुल्ला तेस्रो भए । सोही स्पर्धाको महिलामा मध्यमाञ्चलकी शान्ता श्रेष्ठले स्वर्ण, मध्यमाञ्चलकी करुणा श्रेष्ठले रजत तथा मध्यपश्चिमाञ्चलकी सुस्मा खत्री र पूर्वाञ्चलकी इन्द्रमाया तामाङले कांस्य हात पारे ।
राखेपअन्तर्गत विद्यालय खेलकुद विकास बोर्डको तत्त्वावधानमा एनप्याब्सन, प्याब्सन र हिसानद्वारा आयोजित प्रतियोगिताको पुरुष ३७ केजीमा मध्यमाञ्चलका प्रवीण लामा पहिलो भए । फाइनलमा उनले मध्यमाञ्चलकै भरत अर्गेजालाई हराए । पूर्वाञ्चलका निशान विश्वास र पश्चिमाञ्चलका अविनाश लामा तेस्रो स्थानमा रहे । महिलाको ३५ केजीमा मध्यमाञ्चलकी करुणा श्रेष्ठले मध्यमाञ्चलकै मधु तामाङलाई निराश पार्दै शीर्षस्थान कब्जा गरिन् । पश्चिमाञ्चलका पम्फा सापकोटा र सविना विक संयुक्त रूपमा तेस्रो भए ।
पुरुष ४२ केजीमा पनि स्वर्ण जित्दै निराकारले व्यक्तिगत स्वर्ण संख्या दुई पुर्‍याए । फाइनलमा उनले सुदूरपश्चिमाञ्चलका कृष्ण ठगुल्लालाई पन्छाए । मध्यमाञ्चलका भूपेन्द्र विश्वकर्मा र पश्चिमाञ्चलका कृष्ण केसी तेस्रो भए । कराते आइतबार सम्पन्न हुनेछ ।
प्रतियोगिताअन्तर्गत बाघचालको छात्रमा मध्यमाञ्चलका सन्तोष बुढाले बाजी मारे । राखेप खेलमण्डल समीक्षालयमा भएको फाइनलमा सन्तोषले सुदूरपश्चिमाञ्चलका कमलानन्द जोशीलाई २–० ले पन्छाए । मध्यमाञ्चलका अफताज देवान तेस्रो स्थानमा रहे । उनले मध्यमाञ्चलकै रञ्जित कुँवरलाई २–१ ले हराए ।
यसैगरी, उसुमा मध्यमाञ्चलले स्वर्णमाथि एकलौटी कब्जा जमाएको छ । समावेश आठै स्पर्धामा मध्यमाञ्चलका खेलाडी शीर्षस्थानमा रहे । छाङ छ्वानको छात्रमा विजय लामा र छात्रामा सुस्मिता तामाङ, नान छ्वानको छात्रमा दोर्जे लामा र छात्रामा मञ्जरी महर्जन तथा थाइची छ्वानको छात्रमा एनोन कुलुङ र छात्रामा करुणा महर्जन पहिलो भए । ताउ सुको छात्रमा विजय सिँजाली र चियन सुको छात्रामा अन्जु गोलेले स्वर्ण चुमे । एकदिने उसुको प्रतिस्पर्धामा २३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया