नेप्से तीन अंकले घट्यो

काठमाडौ, २ असार । नेप्से परिसूचकमा घट्ने क्रम जारी छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव शून्य ९ अंकले ह्रास भई अन्तिम दिन ४ सय ९४ दशमलव ३६ अंकमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जमा १ सय १९ कम्पनीको कारोबार भएकामा ५ हजार १ सय ७५ कारोबारबाट २९ करोड ४४ लाख ९१ हजार रुपियाँ बराबरका ११ लाख ८० हजार ५ सय २३ कित्ता सेयर खरिद–बिक्री भएका छन् ।

गत साता १ सय १८ कम्पनीको कारोबार भएको थियो । जसमा ४ हजार ७ सय ७७ कारोबारबाट २८ करोड २७ लाख २४ हजार रुपियाँ बराबरका १२ लाख ५० हजार ७ सय ९५ कित्ता सेयर खरिद–बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ४ दशमलव १६ प्रतिशतले वृद्धि भएको हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र १७ करोड ९२ लाख ९४ हजार रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ६० दशमलव ८८ प्रतिशत हो ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.९८ अंकले ह्रास भई १ सय २३.५२ अंकमा आइपुगेको छ । गत साता कारोबार रकम ३ करोड ७० लाख १२ हजार रुपियाँका आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी अग्रस्थानमा छ । त्यसैगरी, कारोबार भएको सेयर संख्या २ लाख ७७ हजार ९ सय ७ कित्ताका आधारमा नबिल ब्यालेन्सड फन्ड अग्रस्थानमा छ । त्यस्तै, कारोबार संख्याका आधारमा कमर्ज एन्ड ट्रस्ट बैंक नेपाल अग्रस्थानमा छ ।
साताको पाँच उत्कृष्ट कम्पनीमा सगरमाथा इन्स्योरेन्स, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, नबिल बैंक, बैंक अफ काठमाण्डु रहेका छन् । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । सेयर सूचीकरणतर्फ भने स्वरोजगार लघुवित्त विकास बैंक, तिनाउ विकास बैंक, यती फाइनान्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल एक्सप्रेस फाइनान्स, विराटलक्ष्मी विकास बैंक, ग्लोबल आइएमई र कावेली विकास बैंक रहेका छन् ।

प्रतिक्रिया