कम्युनिस्टको ढुंगाले लागेर दाँत फुट्यो

Arjun Nirshing K Cनाम कमाउने भोक सानै उमेरदेखि थियो मलाई । लाग्थ्यो– सबैले चिन्ने काम गर्नुपर्छ । नुवाकोटको सुदूर गाउँमा जन्मिएँ । त्यहाँ मैले चिन्ने ठूला व्यक्ति भनेका आफ्नै परिवारका मान्यजन र स्कुलका सरहरू हुन्थे । राष्ट्रिय रूपमा योगदान पुर्‍याएका व्यक्तिहरूको त नाम पनि सुनिँदैनथ्यो । तर, पनि सबैभन्दा पृथक् काम गरेर नाम कमाउनुपर्छ भन्ने लाग्थ्यो । उति बेलाको गाउँ विकटै भए पनि हामीलाई भने केही अभाव थिएन । परिवार सम्पन्न थियो । तर, अरूका समस्या र अभाव धेरै देखेँ । दु:ख लाग्थ्यो । त्यसका लागि के गर्न सकिएला, खुट्टयाउने उमेर र दिमाग दुवै थिएन त्यो बालवयमा ।
गाउँको हुनेखानेमा पथ्र्यो हाम्रो परिवार । आसामी धेरै हुन्थे । माघेसंक्रान्तिका बेला आसामीबाट ब्याज उठाउने चलन हुन्थ्यो । स्कुलमा जाडो बिदा हुने भएकाले त्यो मौकामा म पनि गाउँगाउँ पुगेको हुन्थेँ । बुबा आदेश दिनुहुन्थ्यो– ल त्यो गाउँ पुगेर ब्याज उठाउनू † त्यो बाली भित्रिने समय पनि हुन्थ्यो । ब्याज तिर्नुपर्ने बेला भएपछि गाउँलेहरू पहिल्यै आमासँग गएर गुनासो गर्दा रहेछन्– लौ न यसपालि खेती राम्रो भएन, ब्याज तिर्न सकिएलाजस्तो छैन, विचार गरिदिनुपर्‍यो । पैसा तिर्न नसक्नेले अन्न दिन्थे । गाउँलेबाट उठाएको अन्न एकै ठाउँ थुपारिन्थ्यो । गाउँ जाने बेला आमा मलाई खुसुक्क भन्नुहुन्थ्यो– फलाना–फलानाको घरमा नजानू, तर बुबालाई चाहिँ उनीहरूबाट अन्न ल्याएर थुप्रोमा मिसाइसकेँ भन् है † म त्यसै गर्थें, बुबालाई पत्तै हुँदैनथ्यो । आमाको व्यवहार देखेर म छक्क पर्थें । भन्नुहुन्थ्यो– यिनीहरूले साह्रै दु:ख पाएका छन्, छाडिदिनू †
ब्याजमा धान, मकै, कोदो संकलन गरिन्थ्यो । आमा सधैँ कुनै न कुनै रूपबाट गाउँलेलाई सहयोग गरिरहनुहुन्थ्यो । आफ्नो परिवारलाई छलेर भए पनि दु:खीगरिबलाई सकेजति सेवा गर्नुहुन्थ्यो । गाउँलेको विपद्मा साथ दिनुहुन्थ्यो । आमाको यो सामाजिक अनि परोपकारी भावनाले मलाई निकै प्रभावित पारेको थियो । गाउँले पनि उहाँलाई निकै मान्थे । म समाजवादी बन्नुमा आमाको व्यवहारको गतिलो आधार छ । समाजलाई सकारात्मक दृष्टिले हेर्ने उहाँको सोचले मलाई थुप्रै कुरा सिकायो । हो, आमासँग यसबारेको कुनै सैद्धान्तिक विचार थिएन, व्यवहार मात्र थियो । आज म दुवै लिएर हिँडेको छु ।
आमा भन्नुहुन्थ्यो, ‘सोचविचारसहित सुरु गरेको अभियानबाट कहिल्यै पछि हट्नु हुँदैन ।’ उहाँमा पनि त्यो खुबी थियो, जसले मलाई सधैँ अघि बढ्न प्रेरित गरिरह्यो । ‘अन्यायको पछि नलाग्नू, कर्तव्यबाट कहिल्यै नचुक्नू । जेठो छोरा भएको नाताले सधैँ तैले यसको अगुवाइ गर्नू,’ आमाको उपदेश पछ्याउँदै जाँदा आज यहाँसम्म आइपुगेको छु । आमासँग कुनै औपचारिक अध्ययनको डिग्री त थिएन । तर, अठारै पुराणका महत्त्वपूर्ण श्लोकहरूबारे पण्डितहरूसँग संस्कृतमै बहस गर्नुहुन्थ्यो ।
हजुरबुबाले हामीलाई पढाउन गोकर्णबाट शास्त्री उत्तीर्ण गुरु लैजानुभएको थियो । उहाँले चण्डी, हितोपदेशलगायत पढाउनुभयो । त्यति बेलाको परम्पराअनुसार लेखापढी र मुद्दाको बेहोरा पनि लेख्न जान्ने भएँ । नुवाकोटमा प्राथमिक अध्ययन सकेर काठमाडौं आएँ । शान्ति विद्यागृहमा सात कक्षामा भर्ना भएँ । यो दोस्रो श्रेणीको विद्यालयमा पथ्र्यो । पद्मोदय, दरबार हाईस्कुल विशिष्ट श्रेणीमा पर्थे । शान्ति विद्यागृहमा पहिलो, दोस्रो हुने दरबार हाईस्कुल वा पद्मोदय जान्थे । म त्यहीँ पढेँ, सधैँ तेस्रो–चौथो हुन्थेँ । स्कुलका अतिरिक्त क्रियाकलापमा बराबर भाग लिइरहन्थेँ । त्यतिबेला स्कुलमा पनि स्ववियु चुनाव हुन्थ्यो । म त्यसको सचिव हँुदै अध्यक्ष बनेँ । तर, त्यो उमेरमा राजनीतिको गहिराइ बुझिसकेको थिइनँ ।
०१७ सालको शाही ‘कू’ पछि नेपाली कांग्रेसले ०१८ सालमा नयाँ वर्षको कार्यक्रममार्फत राजाको निरंकुशताविरुद्ध सशक्त arjunसंघर्ष गर्ने उद्घोषसहतिको पर्चा बाँड्दै थियो । आमजनतालाई आह्वान गर्दै थियो– राजाको कदम गलत हो, प्रजातन्त्रको रक्षार्थ सबै जनता एकजुट भएर उठ्नुपर्छ । जताततै नारा, जुलुस, भाषण मात्रै देखिन्थ्यो । माहोल देख्दा मलाई पनि लाग्यो– राजाको शासनभन्दा प्रजातन्त्र नै ठीक हो । यसको हत्या हुनु हुँदैन । राजनीति र पार्टीबारे भने म अझै अनभिज्ञ नै थिएँ ।
एसएलसी परीक्षा दिएर बसेको थिएँ । कांग्रेस कार्यकर्ता ध्यानगोविन्द रञ्जितलगायतसँग मेरो सम्पर्क बढ्यो । उनीहरूसँग जुलुसमा पुगेर कांग्रेसको पर्चा बाँडिदिन थालेँ । रमाइलो लागिरहेको थियो तर यसबापत जेल परिएला भन्ने हेक्का त मलाई पटक्कै थिएन । पर्चा बाँड्दै गर्दा वैशाख २ गते प्रहरीले मलाई पक्राउ गर्‍यो । बुबाले सोर्सफोर्स लगाएर बाइसौँ दिनमा छुटाउनुभयो । जेलबाट फर्केपछि कांग्रेसका नेताहरूसँग राजनीतिक सम्पर्क बढ्दै गयो । वीर अस्पतालपछाडि गिरिजाप्रसाद कोइरालाकी भाउजू रोसा कोइराला बस्नुहुन्थ्यो । म साथीहरूसँग त्यहाँ गइरहन्थेँ ।
जेल पर्नुअगाडिको एउटा घटनाले म कम्युनिस्टविरोधी भएँ । नत्र सातआठ कक्षामा पढ्दा त जोसुकैको भाषण अनि जुलुसमा पनि पुगिदिन्थेँ । रमाइलो लाग्थ्यो भाषण सुन्न । नेताहरू नयाँनयाँ कुरा गर्थे । घत लाग्यो कि ताली पिटिहाल्यो । डा. केआइ सिंह, गणेशमानहरूको भाषण बढी सुन्न पाएँ सानोमा । उनीहरूको भाषण यति मन पथ्र्याे कि छोड्नै मन नलाग्ने ।
०१६ सालमा कुनै विदेशीले सगरमाथा आफ्नो हो भनेर दाबी गरेछ । कांग्रेसले त्यसको विरोधमा जुलुस निकालेको थियो । म पनि जुलुसमै मिसिएर हिँडिरहेको थिएँ । सहभागीहरू नारा लगाउँथे– सगरमाथा हाम्रो हो । सिंहदरबार पुग्दा कसैले जुलुसमाथि ढुंगा बर्सायो । मलाई पनि लाग्यो, दाँतै फुट्यो, मुखबाट भलभली रगत आयो । त्यसपछि जुलुस तितरबितर भयो । कसैले भनेको सुनेँ– यो कम्युनिस्टको काम हो । मलाई लाग्यो– सगरमाथालाई हाम्रो भन्दा ढुंगा हान्ने कम्युनिस्ट ठीक होइनन् । त्यसपछि मलाई कम्युनिस्ट राम्रा लाग्न छाडे ।
कलेज प्रवेशसँगै संगठित राजनीतिक यात्रा सुरु भयो । विद्यार्थी संगठित गर्न पार्टीले पश्चिम एक नम्बर छात्र समिति बनाएको थियो । त्यसको अध्यक्ष भएँ । विद्यार्थी रहँदा विभिन्न कमिटीमा रहेर काम गरेँ । नेपाल विद्यार्थी संघको पहिलो भेलाले मलाई तयारी समितिको संयोजक बनायो । समयक्रमसँगै राजनीतिक यात्रा अघि बढ्दै गयो । नेताहरूसँगको सम्पर्क र सम्बन्ध विस्तार हुन थाल्यो । मलाई सुवर्णशमशेरले पार्टी सदस्यता दिएका । त्यसयताको राजनीतियात्रामा थुप्रै आरोहअवरोह र विजयपराजय भोगेँ । कति घटनाले उत्साही बनाए, कतिले दु:खी पनि । तर, जुन यात्रामा लागेँ, त्यसमा सन्तुष्ट छु । पछुताउनुपर्ने काम गरेको छुइनँ ।
०००
यति बेलाको राष्ट्रिय राजनीति देख्दा दु:ख लाग्छ । मुलुक संक्रमणकालमा गुज्रिरहेछ । जटिलता र चुनौतीको पहाडले घेरिएका छौँ हामी । एकातिर जनप्रतिनिधिविहीन अवस्था, अर्कातिर संवैधानिक रिक्तता र राजनीतिक शून्यता । समाज गतिहीन बन्दै जाँदा सन्तोष लिने ठाउँ कहाँ भेटिन्छ र ? तर, समस्या छ भनेर भाग्न पनि मिल्दैन । आफ्नो भूमिकामा सबै जना सधैँ क्रियाशील भइरहनुपर्छ ।
समस्या पर्दा सबैभन्दा पहिला आमालाई सम्झन्छु । सधैँ भन्नुहुन्थ्यो– हिम्मत नहार्नू, काममा विजयी हुनू । आमाको आशीर्वादले एउटा मनोवैज्ञानिक बल दिन्थ्यो । संविधानसभा चुनाव हारेर घर पुग्दा आमाले भन्नुभएको थियो– तँलाई हराए हैन ?’ मैले भनेँ, ‘हारे पनि जिउँदै त छु नि †’ सुरक्षित घर पुग्नु पनि ठूलै कुरा थियो त्यस बेलाको त्यो माहोलमा । आमाले भन्नुभयो, ‘यस्तै हो, जीवनमा हारजित भइरहन्छ तर चिन्ता र आत्मग्लानि लिनु हुँदैन । तैँले परिवार र राष्ट्रका लागि धेरै गर्नु छ, त्यसैले आत्तिनु हुँदैन ।’ आमाको त्यही प्रेरणाको बल हो, आज पनि पार्टीभित्र होस वा बाहिर आफ्ना कुरा निर्भयतापूर्वक राख्न सक्छु ।
राजनीतिक जीवनमा दु:खसुख आइरहन्छ । कहिले पार्टीभित्र असहजता हुन्छ, कहिले देशै असहजतापूर्वक चलेको हुन्छ । राष्ट्रिय राजनीतिमा नहुनुपर्ने भइदिन्छन् कहिलेकाहीँ । संविधानसभाले चार वर्षसम्म केही गर्न सकेन, त्यत्तिकै विघटन भयो । अहिलेको सरकार निर्माण प्रक्रियामा कांग्रेसले जुन अडान लिनुपर्ने हो, सकेन । माओवादीले सुरुमा कांग्रेसलाई प्रधानमन्त्रीको नाम माग्ने, पछि कांग्रेसको नेतृत्व स्वीकार गर्दिनँ भनेर बखेडा गर्‍यो । राजनीतिक रूपमा धोका दियो ।
मैले त्यतिबेला पाँचवटा सम्भावना अघि सारेको थिएँ, शान्तिप्रक्रिया र लोकतन्त्रका लागि साथ दिने नागरिक समाजका व्यक्तिहरूको नेतृत्वमा सरकार सञ्चालन गर्ने भनेर । कांग्रेसभित्रै त्यसलाई गम्भीरतापूर्वक लिइएन । मैले यो विकल्पमाथि धेरै बहस गरेँ । लेख लेखेँ, भाषण गरेँ तर कसैलाई चित्त बुझाउन सकिनँ । तर, मुलुक यो स्थितिमा आइपुग्यो । यो अवस्थालाई म विकल्पविहीन धराप भन्छु, जहाँबाट फर्कने ठाउँ नै छैन । मेरो प्रस्तावमा गएको भए सायद कांग्रेस अझ लोकप्रिय हुन्थ्यो । तर हामी माओवादीले जता डोहोर्‍यायो उतै लुरुलुरु गर्‍यौँ । दु:ख लाग्छ ।
पार्टीमा धेरै नेतासँग काम गरे, उनीहरूबाट सिक्न र बुझ्न पाएँ । सबैका आआफ्नै विशेषता थिए । बिपीमा बौद्धिक चिन्तन र सर्वव्यापी गुण थियो । गणेशमान त्याग, निष्ठा र दृढता बोकेका नेता थिए । दुवैबाट प्रेरणा पाएको छु । कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेरदेखि गिरिजाप्रसादसम्मबाट थुप्रै कुरा सिकेको छु । त्यही राजनीतिक प्रेरणा, ज्ञान र सीपले आजसम्म टिकाएको छ । आफ्ना जायज कुरा राख्न कोहीकसैको अनुहार हेर्ने गरेको छुइनँ । के बोलेर के पाइन्छ भन्नेमा मेरो सरोकार होइन । कर्तव्य पूरा गर्दै जाँदा जे हुन्छ, त्यसैमा खुसी लाग्छ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया