एमाओवादीसँग त्रास र आस देखाउने साहस छैन : ज्वाला

काठमाडौं, २ असार । एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले एमाओवादीसँग संविधानसभा चुनाव जित्ने नैतिक साहस नभएको बताएका छन् । जनतालाई अघिल्लो चुनावमा त्रास र लोभ देखाएर माओवादीले चुनाव जितेको भए पनि अहिले ऊसँग त्रास र आश देखाउने दुवै साहस नभएको ज्वालाको भनाइ छ ।

‘नैतिक साहस नभएको पार्टी जनतासमक्ष जान सक्दैन । अहिले जति ठूलो कुरा गरे पनि एमाओवादीसँग त्यो अवस्था छैन,’ राजधानीमा शनिबार एमाले सल्यान–काठमाडौं सम्पर्क मञ्चको छैटौँ सम्मेलन उद्घाटनपछि ज्वालाले भने, ‘जनताको रगतमा खेलेको माओवादीले जनतालाई के दियो ? यसको हिसाब जनताले माग्छन् । त्यसबेला एमाओवादीको चुनाव जित्ने नैतिक आधार सामाप्त हुन्छ ।’
उनले सरकारको सिफारिसमा राष्ट्रपति रामवरण यादवद्वारा जारी चुनावी कानुनसम्बन्धी अध्यादेश अपूरो रहेको बताए । ‘उम्मेदवारले आफ्नो सम्पत्ति घोषणा गर्नुपर्छ, त्यो समावेश नहुनु दु:खद हो,’ उनले भने । आफ्नो पार्टीका तर्फबाट उम्मेदवार हुने सबैले सम्पत्रि विवरण सार्वजनिक गर्ने उनले बताए ।
सम्पर्क मञ्चको सम्मेलनले सन्तोष विष्टको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमित चयन गरी ५ बँुदे घोषणापत्र जारी गरेको छ । सम्मेलनले संविधानसभा चुनाव स्वच्छ र धाँधलीरहित रूपमा सम्पन्न गर्न सरकारसँग माग गरेको छ । सल्यानबाट काठमाडौं आई विभिन्न पेसा व्यवसायमा संलग्नहरूलाई चुनावको समयमा जिल्ला जान मञ्चले आग्रह गरेको छ ।

प्रतिक्रिया