वेब एसएमएसबाट ठगी गर्ने नाइजेरियन पक्राउ

nizeriaकाठमाडौं, १ असार । चिठ्ठा परेको झुटो वेब एसएमएस पठाउँदै ठगी गर्ने दुई नाइजेरियनसहित तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै नाइजेरियन फुटबल खेलाडी हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्ने पासपोर्ट नम्बर एओ ३४३७०६१ बाहक २२ वर्षीय इकेचुकओ जोन डिक, पासपोर्ट नम्बर ओ २६०६१९ बाहक २५ वर्षीय इनेस्ट पी कमरा नाइजेरियन नागरिक हुन् । उनीहरूसँगै काभ्रे संखुपाटीचौर–५ की २७ वर्षीय सम्झना परियार पनि पक्राउ परेकी छिन् ।
पक्राउ परेका जोन अघिल्लो वर्ष जावलाखेल युथ क्लबबाट ‘ए’ डिभिजन लिग फुटबल खेलेका थिए भने कमराले संकटा क्बलबाट खेलेका थिए । प्रहरीका अनुसार उनीहरू अहिले दुवै क्लबमा आबद्ध छैनन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईवीबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई शुक्रवार कपनबाट पक्राउ गरेको हो । सिआईवी प्रमुख डिआईजी केशबहादुर शाहीका अनुसार पक्राउ परेका दुई नाइजेरियन फुटबल खेलाडी रहेको बताए । ‘उनीहरूले अघिल्लो साल नेपाली क्लबबाट खेलेको देखिन्छ । तर, अहिले भने क्लबसँग उनीहरूको सम्झौता भएको देखिँदैन,’ उनले भने ।
प्रहरीका अनुसार उनीहरूले भक्तपुरका रूपेश प्रजापतिसँग १० लाख रुपियाँ ठगेका थिए । प्रजापतिकै उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरूले इन्डोनेसियाको जाकर्ताबाट नेपालमा रहेका विभिन्न व्यक्तिलाई ठूलो धनराशि परेको भन्दै वेब एसएमएस पठाउने गर्थे ।
उक्त रकम प्रप्त गर्न कानुनी प्रक्रिया पुर्‍याउनुपर्ने, भ्याट तिर्नुपर्ने, दोभाषेलाई तिर्नुपर्नेलगायत विभिन्न बहाना देखाई बैंकमा रकम जम्मा गर्न लगाउँथे । यस कार्यका लागि उनीहरूले नेपाली युवती परियारलाई प्रयोग गरेका थिए । उनीहरूले नेपालमा परियारको नाममा बैंकमा खाता खोलेका थिए । उनैको खातामा उनीहरूले पीडितबाट रकम जम्मा गर्न लाउँथे । क्रिस्चियन धर्मको प्रचारकसमेत रहेका उनीहरू र परियारबीच चर्चमा भेट भएको थियो । पैसा दिने प्रलोभनमा उनीहरूले परियारलाई प्रभावमा पारेका थिए ।
प्रहरीका अनुसार यसै कामका लागि उनीहरूले पेप्सी ड्रिंक एन्ड बोटलिङ कम्पनीको नाममा झुटा आइडी बनाएका थिए ।

प्रतिक्रिया