मेरो तटस्थताप्रति शंका नगर्नुस् : रेग्मी

Khilraj-Regmiकाठमाडौं, १ असार । चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले घोषित मितिमा निष्पक्ष र स्वतन्त्र चुनाव गर्न सरकार प्रतिबद्ध रहेको जनाएका छन् । सरकारले चुनावको मिति घोषणा गरेको भोलिपल्ट शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले आफ्नो निष्पक्षता र तटस्थताप्रति शंका नगर्न पनि अपिल गरेका छन् ।

न्याय क्षेत्रको पृष्ठभूमिबाट कार्यपालिकाको प्रमुख भएको उल्लेख गर्दर्ै अध्यक्ष रेग्मीले आफ्नो एक मात्र मूल उद्देश्य निष्पक्षतापूर्वक संविधानसभा चुनाव गराउनु रहेको बताए । निष्पक्षता र तटस्थता आफ्नो जीवनको एक मात्र आदर्श भएको भन्दै उनले त्यसमा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धतासमेत जनाए ।
‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र अधिकाधिक जनसहभागितामूलक बनाउने कार्यमा समर्पित भएर लागेको कुरा यहाँहरूसमक्ष पुनरावृत्ति गर्दै म के भन्न चाहन्छु भने– मेरो आचार, व्यवहार र कार्यसम्पादन शैलीमा म आफू प्रधान न्यायाधीशका रूपमा जसरी गर्ने गर्दथेँ, त्यही रूपमा निष्पक्षतापूर्वक गर्दै आइरहेको छु । तर, काम, कर्तव्य र अधिकारका सवालमा यस जिम्मेवारीमा रहँदा म न्याय प्रशासन, न्याय सम्पादनलगायत सबै न्यायिक भूमिकाबाट पृथक् रहेको छु,’ मन्त्रिपरिषद् अध्यक्ष भएपछि देशवासीको नाममा पहिलो सम्बोधन गर्दै रेग्मीले भने ।
तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न सबैको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष रेग्मीले बताए । ‘निर्वाचनको मिति तय भइसकेको छ । निर्वाचनसम्बन्धी आवश्यक कानुन आइसकेको छ र मतदाता सूची अन्तिम चरणमा पुगेको छ, अब हाम्रो प्रतिबद्धताको मात्र खाँचो छ,’ उनले भने ।
निर्वाचन सफल बनाउन सबै क्षेत्र र वर्गलाई उत्साहका साथ लाग्न आग्रह गर्दै रेग्मीले सरकारको मूल उद्देश्य स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु रहेको पटक–पटक दोहर्‍याए । उनले सबै राजनीतिक दललाई चुनावमा स्वस्थ प्रतिस्पर्धा गर्न पनि आग्रह गरे ।
विशिष्ट परिस्थितिमा आफ्नो नेतृत्वमा सरकार गठन भएको भन्दै अध्यक्ष रेग्मीले तीन महिनाको अवधिमा चुनावको वातावरण बनाउन आफू सक्रिय रहेको बताए । व्यक्तिगत मोह वा महत्त्वाकांक्षाका कारण आफूले सरकारको नेतृत्व नगरेको भन्दै उनले आफ्नो राष्ट्र र जनताप्रतिको जिम्मेवारी र दायित्वका रूपमा त्यसलाई ग्रहण गरेको बताए ।
‘कुनै विषयमा देशका जनतालाई प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच सहमति कायम भई विकल्परहित अवस्थामा बृहत् राष्ट्रिय सरोकार र दूरगामी महत्त्वका विषयमा कुनै जिम्मेवारी प्रदान गरिन्छ,’ रेग्मीले सम्बोधनमा भने, ‘त्यस्तो अवस्थामा जिम्मेवारीबाट पन्छिनु अकर्मण्यता र आफ्नो ओहदाको कर्तव्यप्रति विमुख भएको ठहर्छ भन्ने अन्त:स्करणको आवाजलाई सम्मान गरी मैले यो जिम्मेवारीलाई स्वीकार गरेको हुँ ।’
शक्ति पृथकीकरणको आधारभूत मान्यताप्रति
आफ्नो उच्च सम्मान रहेको भन्दै त्यसलाई व्यवहारमा लागू गर्न नै आफू कार्यपालिकाको भूमिकामा मात्र सीमित रहेको बताए । ‘मेरो भूमिका न्यायपालिकाबाट पृथक् भएकाले त्यसप्रति चिन्ता नगर्न म सबैलाई आग्रह गर्छु,’ उनले भने ।
चुनावका लागि आवश्यक पूर्वतयारी र साधनस्रोतको व्यवस्था तथा निर्वाचनमैत्री वातावरण आवश्यक हुने भन्दै उनले सरकार निर्माणको प्रक्रियामा असहमति तथा विमति राख्ने र निर्वाचनको प्रक्रियाबारे विभिन्न माग राखी विरोध गरिरहेका राजनीतिक दलहरूलाई तत्काल वार्तामा आएर छलफलद्वारा समस्या समाधान निकाल्न आग्रह गरेका छन् ।
‘राजनीतिक मतभिन्नताबारे छलफलद्वारा निकास निकाली निर्वाचनमैत्री वातावरण निर्माण गरी सहयोग गर्न विशेष आग्रह गर्दछु,’ अध्यक्ष रेग्मीले भने । चुनावका लागि आवश्यक पूर्वतयारी र साधनस्रोतको व्यवस्था तथा निर्वाचनमैत्री वातावरण अत्यावश्यक हुने उनले बताए ।
निर्वाचन सरकार वा दल विशेषका लागि नभएर सम्पूर्ण नागरिकले लोकतान्त्रिक अभ्यास र प्रयोगलाई व्यावहारिक रूप दिन आवश्यक भएको अध्यक्ष रेग्मीले बताए । ‘नागरिक अधिकारको एउटा सशक्त मौलिक माध्यम र राजनीतिक आधार तय गर्ने निर्विकल्प वैधानिक पद्धतिका रूपमा निर्वाचन रहेको हुन्छ । लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, संसदीय प्रणाली र नागरिक तथा राजनीतिक अधिकारप्रति विश्वास राख्ने र सोहीअनुरूप राजनीतिक अभ्यास र प्रचलनमा आफूलाई क्रियाशील गराउन चाहने जुनसुकै राजनीतिक दल तथा नागरिक निर्वाचन प्रक्रियामा संलग्न हुनुपर्छ,’ उनले भने ।
लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा र संसदीय प्रणालीप्रति विश्वास राख्नेहरू चुनावमा सहभागी नहुँदा लोतन्त्र नै खल्बलिने अध्यक्ष रेग्मीले बताए । ‘अन्यथा, लोकतन्त्रको जग खल्बलिन पुग्दछ, राजनीतिक संस्कार पथविचलित हुन्छ र नागरिकमा नैराश्य र अविश्वास उत्पन्न भई सिंगो शासनप्रणाली अस्थिर बन्ने भय रहन्छ,’ उनले भने ।
‘हाम्रो ध्येय निर्वाचन सम्पन्न गराउनु भएकाले यस कार्यमा आफूलाई सक्रिय बनाउन सबैलाई आह्वान गर्छु,’ उनले भने, ‘म सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू, शिक्षक, पेसाकर्मीले आ–आफ्नो जिम्मेवारी र भूमिकालाई स्वतन्त्र, निष्पक्ष र उद्देश्यमूलक ढंगबाट सञ्चालन गरी आफ्नो व्यावसायिकतालाई क्रियाशील राख्न आग्रह गर्दछु ।’
चुनावका लागि जनचेतना विस्तार तथा नागरिकलाई निर्वाचनसम्बन्धी विषयमा सुसूचित गर्दै जागरण सिर्जना गर्न कानुन व्यवसायी, सञ्चारकर्मी तथा नागरिक समाजको सधैँ अग्रणी भूमिका रहिआएको भन्दै अध्यक्ष रेग्मीले कानुन व्यवसायीलाई निर्वाचनका कार्यक्रममा आफ्नो ज्ञान, सीप र व्यावसायिकतासहित सक्रिय रूपमा क्रियाशील हुन आग्रह गरे ।
‘नागरिक समाज तथा अन्य गैरसरकारी संस्थाहरूलाई पनि निर्वाचन कार्यमा पर्यवेक्षण, जनचेतनालगायत उपयुक्त भूमिकामार्फत क्रियाशीलता कायम राख्न म आह्वान गर्दछु,’ रेग्मीको भनाइ थियो, ‘सरकारले गराउने निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा भए/नभएको सम्बन्धमा निर्वाचन आयोगसँग समन्वय गरी पर्यवेक्षण गर्न नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई म आग्रह गर्दछु ।’
सर्वसाधारण जनताले भोग्नुपरेको महँगी, बेरोजगारी तथा आर्थिक, सामाजिक क्षेत्रका समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकताप्रति पनि सरकार संवेदनशील र सचेत रहेको अध्यक्ष रेग्मीले बताए । आगामी बजेटमा जनताका दैनिक समस्यालाई सम्बोधन गर्न यथाशक्य प्रयास गरिने उनले बताए ।
निर्वाचन अध्यादेश स्वीकृत
काठमाडौं : राष्ट्रपति डा. रामवरण यादवले संविधानसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश शुक्रबार स्वीकृत गरेका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अध्यादेश जारी गरेको थियो ।
राष्ट्रपति यादवले नेपालको अन्तरिम संविधानको धारा ८८ को उपधारा १ बमोजिम अध्यादेश स्वीकृत गरेको राष्ट्रपति कार्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले बिहीबार अध्यादेश अनुमोदनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया