मधुपर्क सम्मान सत्यमोहन र तोया गुरुङलाई

Maddhupark-Sammanकाठमाडौं : गोरखापत्र संस्थानको साहित्यिक मासिक ‘मधुपर्क’ले बिहीबार वरिष्ठ लोकसंस्कृतिविद् सत्यमोहन जोशी र कवयत्री तोया गुरुङलाई ‘मधुपर्क सम्मान–२०७०’ ले सम्मानित गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव ध्रुवप्रसाद अर्याल र प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले जोशी र गुरुङलाई सम्मानपत्र र नगद पुरस्कार १५ हजार १ रुपियाँ समर्पण गरे ।
अनेक लब्धप्रतिष्ठित साहित्यकार, पत्रकार र गोरखापत्र संस्थानका कर्मचारीहरूले खचाखच भरिएको कार्यक्रमस्थलमा उपस्थितलाई सम्बोधन गर्दै ९४ वर्षीय जोशीले आफूले यो संसार छाड्नुअघि कुनै नेपाली लेखकले नोबेल परस्कार पाएको सुन्न–देख्न पाए हुन्थ्यो भन्ने एकमात्र मनोकांक्षा बाँकी रहेको विचार व्यक्त गरेका थिए ।
गोप संस्थानका निमित्त महाप्रबन्धक कपिल घिमिरेको अध्यक्षता र मधुपर्कका सहसम्पादक तुलसीहरि कोइरालाको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा तोया गुरुङका साथै मधुपर्कका निमित्त सम्पादक बसन्तप्रकाश उपाध्याय, साकित्यिक पत्रकार संघका अध्यक्ष रोचक घिमिरे आदिसमेतले सम्बोधन गरेका थिए ।
मधुपर्क भनेर नामाकरणको प्स्ताव लक्ष्मीनाथ ढुंगेलले गरेको र पत्रिकाको जन्म नाटककार बालकृष्ण समसमेत रहेको समितिबाट २०२६ सालमा भएको थियो । मधुपर्क सम्मानको परम्परा २०५९ सालदेखि थालिएको थियो भने बिहीबार जोशी र गुरुङ सम्मानित भएको कार्यक्रम मधुपर्क सम्मानको बाह्रौं शृँखला हो । (सौस)

प्रतिक्रिया