डलर बढ्ने क्रम जारी

dolarsकाठमाडौ, ३१ जेठ । नेपाली बैंकले बुधबारको तुलनामा डलरको बिक्रीमूल्य केही कम तोके पनि भारतमा बिहीबार अपराह्न डलरको मूल्य पुन: उकालो लागेको छ । भारतमा बिहीबार अपराह्न १ डलरको बिक्री मूल्य भारु ५८ रुपियाँ ४१ पैसा पुगेको छ । बुधबार कारोबार बन्द हुँदा डलरको बिक्री दर भारु ५८ रुपियाँ २६ पैसा कायम रहेको थियो ।

नेपाली मुद्रामा रुपान्तरण गर्दा बिहीबार भारतमा १ अमेरिकी डलर बराबर ९३ रुपियाँ ४६ पैसामा कारोबार भइरहेको छ । नेपाली बैंकले भने हिजोको तुलनामा २० पैसा घटाएर आज ९३ रुपियाँ ३० पैसामा कारोबार गरेका छन् । नेपालमा बैंकहरूले तोकेको दर दिनभर कायम रहन्छ ।
भारतीय अर्थतन्त्र कमजोर भएर भारतीय रुपियाँ अमेरिकी डलरको तुलनामा कमजोर भएकाले भारतसँग नेपालको स्थिर विनिमयका कारण नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको हो । मंगलबार नेपाली रुपियाँ ऐतिहासिक रूपमा कमजोर भई १ अमेरिकी डलर बराबर झन्डै ९४ रुपियाँ पुगेको थियो । यही प्रवृत्ति कायम भए आयातमा निर्भर नेपाली अर्थतन्त्र प्रभावित हुनेछ ।
मंगलबार भारतीय मुद्रा प्रतिडलर ५८.९८ रुपियाँमा रह्यो । यसअघि गत असारमा भारतीय मुद्रा कमजोर हुँदा पनि ५७.३२ मा कारोबार भएको थियो । भारतको रिजर्भ बैंक अफ इन्डियाले यसअघि आफ्नो मुद्रा कमजोर हुँदा बचाउ गर्न ठूलो परिमाणमा सञ्चित डलर बेच्नुका साथै सुनसमेत बिक्री गरेको थियो । यसपटक रिजर्भ बैंकले केही कदम नचालेका डलरको विनिमय अझै बढ्ने अनुमान वित्तशास्त्रीले गरेका छन् । बढ्दो व्यापार घाटा, स्थानीय कम्पनीको घट्दो सेयर मूल्य, डलरको बढ्दो माग तथा कमजोर आर्थिक परिसूचकका कारण भारु डलरको तुलनामा खस्कँदै गएको हो । नेपालको अर्थतन्त्र प्रत्यक्ष रूपमा भारतीय अर्थतन्त्रसँग निर्भर रहेको हुँदा भारु कमजोर हुँदा नेपाली रुपियाँ पनि स्वत: कमजोर हुने गर्छ । डलर महँगिँदा रेमिट्यान्स पठाउनेलाई फाइदा हुने र पर्यटनको आम्दानी बढ्नेछ ।
डलर बलियो हुँदा पश्मिना, गलैँचालगायत अन्य हस्तकला निर्यात गर्ने निर्यात कम्पनीलाई फाइदा हुन्छ भने वैदेशिक कामदारका रूपमा विदेशमा बसेर काम गरेर आºनो पारिश्रमिक स्वदेश पठाउने रेमिट्यान्स प्रापकलाई पनि फाइदा नै हुन्छ । नेपालको अर्थतन्त्र आयातमा निर्भर हुँदै गएकाले नेपालको परिप्रेक्ष्यमा भने नकारात्मक प्रभाव धेरै पर्न अर्थविद् बताउँछन् ।
डलर महँगिँदा नेपालमा आयातित वस्तु महँगिनेछन्, जसले उपभोक्ताको खर्च बढाउनेछन् । तर, यसको प्रभाव भने केही पछि मात्र पर्नेछ । त्यस्तै, वैदेशिक ऋणको सावाँ–ब्याज भुक्तानी गर्दा उत्ति नै डलरका लागि बढी रुपियाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै, विद्युत् प्राधिकरणले डलरमा गरेको विद्युत् खरिद सम्झौता (पिपिए)अनुसार नेपाली रुपियाँमा बढी मूल्य चुकाउनुपर्ने हुन्छ । प्राधिकरणले खिम्ती र भोटेकोसीसँग अमेरिकी डलरमा पिपिए गरेका थिए ।
यस्तो समयमा निर्यात बढाउन सके मुलुकले फाइदा लिनसक्छ । उत्ति नै लागत परेका सामान निकासी गर्न सके बढी रकम हात पार्न सकिन्छ ।

प्रतिक्रिया