गर्मीले विद्युतीय उपकरणको माग बढ्यो

वीरगन्ज : केही दिनदेखि तराईमा बढ्दो गर्मीका कारण विद्युतीय उपकरण (पंखा, फ्रिज, कुलर, एसी) को माग बढेको छ ।
चर्को घाम र सुख्खा हावाका कारण केही दिनदेखि तराईका जिल्लामा अत्यधिक गर्मी बढेको छ । गर्मीबाट बच्नका लागि चिस्याउने सामग्रीको किनमेल गर्न यतिखेर वीरगन्जका विद्युतीय पसलमा भीड बढ्दै गएको छ ।
गर्मी बढ्दै गएपछि पंखा, फ्रिज, कुलर, एसीलगायतका विद्युतीय उपकरणको व्यापार अहिले फस्टाएको उल्लेख गर्दै व्यवसायीले भने, ‘तराईमा बढ्दो गर्मीका कारण हुनेखाने परिवारलाई फ्रिज नभई नहुने भएको छ ।’
घरमा खानेकुरा ताजा राख्न, पानी, दही, जुसलगायतका तरल पेय पदार्थ चिस्याउन र बरफ तथा आइसक्रिम आदि बनाउन फ्रिजको प्रयोग गरिन्छ भने व्यापारीले पेय पदार्थ चिस्याउन र आइसक्रिम बनाउन फ्रिजको प्रयोग गर्ने गर्छन् । फ्रिजको आवश्यकता खानादेखि पानीसम्म र तरकारीदेखि दहीसम्म चिसो राख्नका लागि गरिन्छ भने आइसक्रिमदेखि मिठाई र चकलेटसम्मको भण्डारणका लागि गरिन्छ । चिस्याउन राख्ने भएकाले फ्रिजमा राख्दा खानेकुरामा कीटाणुको प्रवेश हुँदैन र खानेकुरा पनि सड्दैन, गृहणी पुनम अग्रवालले भने, ‘गर्मीका कारण खानेकुरा नसड्ने र चिसो राख्ने भएकाले आफूले बजारबाट फ्रिज किनेर ल्याई प्रयोग गर्ने गरेकी छु ।’
औषधि चिस्याएर राख्नका लागि पनि अस्पताल र औषधि व्यवसायीले समेत यसको प्रयोग गर्ने गर्दछन् । निश्चित तापक्रममा राख्ने औषधिका लागि फ्रिजको प्रयोग अनिवार्य छ । ‘घरायसी र व्यापारिक प्रयोजनका लागि मात्र होइन, औषधि पसलका लागि पनि फ्रिज नभई नहुने भएको छ’ घन्टाघरस्थित मनोज मेडिकलका सञ्चालक मनोज साहले भने, ‘बढ्दो गर्मीसँगै अहिले फ्रिज आम मानिसको आवश्यकता बन्दै गएको छ ।’
विशेषगरी ९१ किलोग्रामदेखि ४ सय ५० किलोग्राम सम्मका रेफ्रिजेरेटर धेरै चल्तीमा रहेको आरके इम्पोरियमका सञ्चालक आलोक अग्रवालले भने, ‘चिस्याउने र विद्युत् बचत गर्ने क्षमतालाई हेरेर यी उपकरणलाई स्टार रेटिङ दिने गरिएको छ ।’
बजारमा फाइभ स्टार रेटिङसम्मका फ्रिज उपलब्ध छन् । भण्डारण क्षमताका आधारमा बजारमा ५० लिटरदेखि ६ सय लिटर सम्मका फ्रिज किन्न पाइन्छ । ‘अहिले दैनिक करिब चार/पाँच वटा फ्रिज र कुलर तथा दुई/तीन वटा एसी पनि बिक्री हुने गरेको छ ।’ सबैभन्दा बढी बिक्री पंखाको हुने गरेको उनको दाबी छ ।
गर्मीलाई लक्षित गरेर विभिन्न कम्पनीका फ्रिज, कुलर, एसी र पंखा बिक्रीमा राखिएको वीरगन्ज माइस्थानस्थित जय इलेक्ट्रोनिक्सका सञ्चालक निर्भय श्रीवास्तवले भने, ‘बजारको प्रतिस्पर्धासँगै अहिले गुणस्तरीय, टिकाउ र कम विद्युत् खर्च हुने फ्रिज, कुलर र एसीको माग बढ्दो छ ।’ बजारमा सामसङ, एलजी, सिजी, सार्प, कोन्का, केल्भिनेटर, गोदरेज, यासुदा, फोर्स, भिडियोकोन, नोभो, हायर, सान्यो र पनासोनिकलगायतका डेढ दर्जनभन्दा बढी ब्रान्डका यी उपकरणहरू उपलब्ध छन् ।
‘ठूला भवन, कार्यालय, बैंक तथा वित्तीय क्षेत्र, होटल, रेस्टुरेन्टलगायतका ठाउँमा एसीको प्रयोग बढ्दो छ’ उनले भने ‘गर्मी बढेकाले घरायसी प्रयोजनका लागि पनि एसी किन्नेहरूको भीड अहिले ह्वातै बढेको छ ।’ वीरगन्ज बजारमा मात्र वार्षिक १५ देखि २० करोडको एसीको कारोबार हुने गरेको अनुमान व्यवसायीको छ । त्यसमा झन्डै ६० देखि ७० प्रतिशत कार्यालय, होटल र रेस्टुरेन्टका लागि खरिद गर्ने गरिएको छ । एसीको बजार वार्षिक २० देखि २५ प्रतिशतका दरले वृद्धि भइरहेको अनुमान सम्वद्ध व्यवसायीको छ ।
चिस्याउनका लागि प्रयोग हुने यस्ता विद्युतीय उपकरणको मागमा आएको वृद्धिसँगै यसको आयातमा समेत वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो दस महिनामा वीरगन्ज भन्सार नाकाबाट एसी र कुलरको आयातमा उल्लेखनीय वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको पहिलो दश महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यस नाकाबाट एक सय ४० प्रतिशतले एसी र एक सय सात प्रतिशतले कुलरको आयातमा वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामहरि अर्यालले बताए । (सौस)

प्रतिक्रिया