भ्रष्टचार मुद्दाका फरार प्रतिवादी पक्राउ

Bishow-Priya-Mallaकाठमाडौं, ३१ जेठ । विशेष अदालतले भ्रष्टचार ठहर गरेको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने धादिङ नलाङ–३ का ४१ वर्षीया विश्वप्रिया मल्ल हुन् ।

विशेष अदालतले मल्ललाई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उजुरीमा सर्वोच्च अदालतले एक करोड चार लाख ७५ हजार रुपिँया जरिवाना तोकेको थियो । विशेषले १३ कात्तिक २०६२ मा दोषी ठहर गरे पनि मल्ल फरार थिइन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मल्ललाई बिहीबार शंखमूलबाट पक्राउ गरेको हो । मल्ल शंखमूलमा डेरा गरी बस्दै आएकी थिइन् । प्रहरीले उनलाई अदालतमा पेस गरिसकेको छ ।
मल्लले कर्जावालालाई नेपाल बैंक लिमिटेडबाट गैरकानुनी रूपमा दुई करोड नौ लाख ५० हजार नौ सय ७६ रुपियाँ ऋण प्रवाह गरेकी थिइन् । प्रहरीका अनुसार मल्लले बैंकका कर्मचारीसँगको मिलेमतोमा २०५५ देखि २०५८ सम्म हाइपोथिकेसन कर्जा प्रवाह गरेकी थिइन् ।
पिजी स्टोर र सानिमा फर्निचर उद्योगका सञ्चालक मल्लले हुँदै नभएको स्टक देखाई बैंकबाट ऋण झिकेकी थिइन् । ऋण झिक्नकै लागि उनले कम मूल्यको जग्गालाई कृत्रिम रूपले मूल्य बढाएकी थिइन् । यही मुद्दाका अर्का प्रतिवादी गेहेन्द्र मल्ललाई प्रहरीले तीन वर्षअघि नै पक्राउ गरेको थियो । उनी पनि पिजी स्टोर र सानिमा फर्निचर उद्योगका मालिक हुन् ।

प्रतिक्रिया