एमाओवादीले दुईतिहाइ बहुमत ल्याउँछ : दाहाल

prachandaविराटनगर, ३० जेठ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आगामी संविधानसभा चुनावबाट आफ्नो पार्टीले दुईतिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले एमाओवादीसँग मधेसी, जनजाति, पिछडावर्ग, दलित र महिलाको माग सम्बोधन गर्ने मुद्दा रहेको र त्यहीअनुसारको संविधान बनाउने भएकाले जनताले आफ्नो पार्टीलाई बहुमतले विजयी गराउने बताए ।

अध्यक्ष दाहालले चुनावमा संघीयता पक्षधरबीच आफ्नो पार्टीको सहकार्य हुने बताए । जनताको चाहना संविधान भएकाले मंसिरको पहिलो हप्ता जसरी भए पनि चुनाव हुने बताए ।
कुनै एक पार्टीले नचाहँदैमा चुनाव नरोकिने बताउँदै उनले आगामी संविधानसभा चुनावमा वैद्य समूहले भाग लिने विश्वास व्यक्त गरे । मुख्य दल, आमजनता र सरकार चुनावका लागि गम्भीर भएकाले सरकारले केही दिनभित्र मिति घोषणा गर्ने उनले बताए ।
अध्यक्ष दाहालले निर्वाचन ऐन जारी हुनेबित्तिकै सरकारले निर्वाचन क्षेत्र पुन:निर्धारण आयोग गठन गर्ने र त्यसका लागि नाम सिफारिससमेत भइसकेको बताए ।
यसैबीच, अध्यक्ष दाहालले बुधबार झापाको लखनपुरमा पत्रकारसँगको भेटघाटमा चुनावका लागि सरकारले चाँडै मिति घोषणा गर्ने तयारी गरिरहेको बताए । चुनावमा न्यूनतम मत सीमा (थ्रेसहोल्ड) अनिर्वाय सर्त नभएको बताउँदै उनले भने, ‘थ्रेसहोल्ड राख्ने/नराख्ने विषयमा सरकारले गरेको निर्णय आफ्नो पार्टीलाई मान्य हुनेछ ।’ थ्रेसहोल्डको नाममा कसैले पनि चुनाव भाँड्न र बखेडा झिक्न नहुने उनको तर्क थियो ।

प्रतिक्रिया