मोरङका ६ सामुदायिक विद्यालयको नतिजा शून्य

विराटनगर, ३० जेठ । यसपटकको एसएलसी परीक्षामा देशभरको समग्रभन्दा मोरङको नतिजा सन्तोष जनक भए पनि ६ वटा सामुदायिक विद्यालयले एक जना पनि विद्यार्थी उत्तीर्ण गराउन सकेनन् ।

जिल्लाका उत्तरी र दक्षिणी ग्रामीण क्षेत्रका विद्यालयको नतिजा शून्य भएको हो । जिल्ला शिक्षा कार्यालय मोरङका अनुसार एसएलसीमा बाराङगीको महेन्द्र मावि र लक्ष्मी मावि, लखन्तरीको विरेन्द्र मावि, टाँडीको सरस्वती मावि, बुधनगरको बुद्धेश्वरी मावि तथा विराटनगरको लक्ष्मीनारायण विद्या आश्रमको नतिजा शून्य भएको हो । जिल्ला शिक्षा अधिकारी योगन्द्र बरालका अनुसार यस वर्षको परीक्षामा महेन्द्र माविबाट १६ जना, लक्ष्मी माविबाट १३, वीरेन्द्रबाट ३४, सरस्वतीबाट ४६, बुद्धेश्वरीबाट १५ र लक्ष्मी नारायण विद्या आश्रमबाट दुई जना सामेल भएका थिए । ती विद्यालयबाट सहभागी भएका एक जना पनि विद्यार्थी नियमित उत्तीर्ण नभएका हुन् । मोरङका यस वर्ष एक सय ४९ वटा विद्यालय सामुदायिक तथा एक सय ५९ वटा संस्थागत विद्यालयवाट विद्यार्थी सहभागी भएका थिए । नतिजा शून्य ल्याउने विद्यालयलाई कारबाही गरिने शिक्षा कार्यालयले जनाएको छ । ती विद्यालयलाई जिल्ला शिक्षा कार्यालयको तर्फबाट दिइने सेवा, सुविधा कटौतीलगायतका कारबाही गरिने जिशिअ बरालले बताए । उनले भने, ‘ती विद्यालयका विगतका नतिजासमेतलाई आधार बनाएर कस्तो कारबाही गर्ने भन्ने निर्णय गर्छौँ ।’

प्रतिक्रिया