डाक्टर बनेर गरिबको सेवा गर्छु

Asim-Ghimireकाठमाडौं, ३० जेठ । यस वर्षको एलएलसीमा झापा बिर्तामोडका असीम घिमिरेले आफूले सर्वाधिक अंक ल्याएको दाबी गरेका छन् । एसएलसी बोर्डले नै ‘बोर्ड टपर’को घोषणा गर्ने व्यवस्था हटाइएपछि विद्यार्थी आफैँले सर्वाधिक अंक दाबी गर्दै घोषणा गर्ने गरेका हुन् । घिमिरेले कुल ८ सय पूर्णांकमा ७ सय ५१ नम्बर ल्याउँदै सर्वाधिक अंक ल्याएको दाबी गरेका हुन् ।

झापाको अनारमनिस्थित लिटिल फ्लावर्स इंग्लिस स्कुलका घिमिरेले ९३ दशमलव ८७ प्रतिशत प्राप्त गरी सर्वाेत्कृष्ट दाबी गरेका हुन् । उनले झापाको गरामनीस्थित दुर्गा माविबाट परीक्षा दिएका थिए । ००४४३६५ ‘आई’ सिम्बोल नम्बर रहेका असीमले अनिवार्य अंग्रेजीमा ९७, नेपालीमा ८५, गणितमा ९९, विज्ञानमा ९८, सामाजिक शिक्षामा ८२, स्वास्थ्य तथा जनसंख्यामा ९३, अतिरिक्त गणितमा ९७ र कम्प्युटर विज्ञानमा १०० नम्बर ल्याएका छन् । कक्षा ४ देखि पावर इंग्लिस बोर्डिङ स्कुलमा पढेका असीम कक्षामा सधैँ प्रथम हुने गरेको संस्थापक निर्देशक राजेश खड्काले बताए । पढाइमा तीक्ष्ण भएका घिमिरेलाई विद्यालयले छात्रवृत्तिमा अध्यापन गराउँदै आएको थियो ।
घिमिरेले आफूले सोचेभन्दा बढी अंक ल्याएको बताए । ‘यति धेरै अंक ल्याउँछु भन्ने त्यत्ति होप गरेको थिइनँ,’ उनले भने, ‘परीक्षा राम्रो गरेको थिएँ । ९२ सम्म ल्याउँछु भन्ने आशा लागेको थियो ।’ परीक्षाफल प्रकाशित भएलगत्तै आफूले प्राप्त गरेको नम्बर थाहा भए पनि घिमिरेले बुधबार मात्रै सर्वाधिक नम्बर ल्याएको दाबी गरेका हुन् । ‘मलाई हिजै आफ्नो प्राप्तांक थाहा थियो तर सुरुमा दाबी गर्न मन लागेन,’ उनले भने, ‘सबैको आएपछि मात्र आफू उत्कृष्ट भएको दाबी गरेको हुँ ।’ यसअघि नतिजा सार्वजनिक भएको दिन मंगलबार ललितपुरस्थित लिटिल एन्जल्स स्कुलका प्रसन्न नेपालले सर्वाधिक अंक ल्याएको दाबी गरेका थिए । प्रसन्नले कुल ८ सय पूर्णांकमा ७ सय ४९ अंक ल्याएका थिए । जसको प्राप्तांक ९३ दशमलव ६२ प्रतिशत रहेको थियो । प्रसन्नभन्दा असीमले दुई अंक बढी अंक ल्याएका छन् ।
घिमिरेले विज्ञान विषय लिएर पढ्ने र पछि डाक्टर बन्ने योजना रहेको सुनाए । ‘विज्ञान विषय लिएर उच्च शिक्षा पढ्छु, त्यसपछि डाक्टर बन्ने लक्ष्य लिएको छु,’ उनले भने, ‘डाक्टर बनेर गरिबदु:खीको सेवा गर्नेछु ।’ घैलाडुब्वा गाविसका घिमिरेका बुबा स्थानीय कलेजमा शिक्षण पेसामै छन् ।

प्रतिक्रिया