अब इन्टरेनटबाटै रक्तदाता फेला पर्ने

काठमाडौं, २९ जेठ । बिरामीको उपचारका लागि सधैँ रगतको समस्या भइरहने उपत्यकामा अब बिरामीका आफन्तले एक क्लिकको भरमा रक्तदाता पाउन सक्ने भएका छन् ।
नेपाल ब्लड डोनर्स एसोसिएसनले अनलाइनमा रक्तदाताहरूको विवरण अद्यावधिक गरेपछि बिरामीका आफन्तले अनलाइनमा क्लिक गरेको भरमा आवश्यक रक्त समूहका दाता पाउन सक्ने अवस्था आएको हो ।
यसअघि ब्लड बैंकमा आवश्यक रगत पाउन नसक्दा बिरामीका आफन्तले चिनेजानेका व्यक्ति वा रक्तदाताको नम्बर खोजेर मात्र रक्तदाता फेला पार्नुपर्ने अवस्था थियो । यसरी फोन नम्बर खोजेर कुराकानी गर्दा कहिलेकाहीँ मानिस अन्यत्र स्थानमा हुने र रक्त समूह पनि नमिल्ने हुँदा समयमै रगत पाउन सक्ने अवस्था थिएन ।
तर, अब बिरामीलाई तत्काल रगत आवश्यकता पर्‍यो भने आफन्तले अनलाइन प्रविधिबाट रगतको आवश्यतकतालाई पूरा गर्नसक्ने ब्लोदानका अध्यक्ष महेन्द्रविलास जोसीले बताए ।
ब्लोदानले मंगलबारबाट औपचारिक रूपमा अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । ब्लोदानले धधध।दयियमmझदभचक।अयm लाई अद्यावधिक गरी सेवा सञ्चालनमा ल्याएको हो । अध्यक्ष जोसीका अनुसार रगत आवश्यक पर्नेले सो साइटमा गएर आफूलाई आवश्यक परेको रगतदाता कहाँ र कुन स्थानमा छन् भनेर थाहा पाउन सक्नेछन् । ‘अनलाइनमा रक्तदाताको परिचयसहित नम्बर र रक्तदाताको रगत समूह पनि राखिएकाले आवश्यक पर्नेले तुरुन्त फोन गरेर बोलाउन सक्नेछन्,’ उनले भने ।
क्याटमान्डु डिजिटल एजेन्सीका कार्यकारी निर्देशक प्रमित श्रेष्ठले ब्लोदानका लागि नि:शुल्क रूपमा तयार पारिदिएको सो अनलाइनमा हाल पहिलो चरणमा करिब एक हजार ४ सय विभिन्न रगत समूहका रक्तदाताको नाम समावेश छ ।

प्रतिक्रिया