ब्युँतिएको विद्यालय

_DSC0520‘विद्यार्थीहरू आआफ्नो कक्षामा पढिरहेछन् । केही विद्यार्थी शिक्षकसँग छलफल गर्दै छन् त कोही चौरमा निस्किएर खेलको अभ्यासमा छन् । वातावरण अत्यन्त रमाइलो देखिन्छ । विद्यार्थीहरूले कक्षामा उच्चारण गरिरहेको ध्वनि चारैतिर गुञ्जायमान बनेको छ । हरेक विद्यार्थीको अनुहार हँसिलो छ । धक पटक्कै देखिँदैन उनीहरूमा । न त शिक्षक–अभिभावकको दबाबमा जबरजस्ती पढ्नुपरेजस्तो पढाइलाई बोझका रूपमा लिएका देखिन्छन् ।
अचानक, नचिनिएका व्यक्तिको एक हुल स्कुल हाताभित्र पस्यो । हुलका प्रत्येकको टाउकोमा हँसिया, हथौँडा अंकित कपडा बाँधिएको थियो । एक्कासि पसेका उनीहरूलाई स्कुलमा पढिरहेका कलिला मस्तिकले चिन्ने मौका नै पाएका थिएनन् । विद्यालयजस्तो पवित्र संस्थामा उनीहरू अवाञ्छित हर्कत देखाउन थाले । उनीहरूका हातमा गोला बारुद सुसज्जित थियो । द्वन्द्वले देशै आक्रान्त भइरहेका बेला शिक्षकहरूले चाल पाइहाले– ‘माओवादी’ । सिकाइको ऊर्जाशीलतामा रमाइरहेको विद्यालयको वातावरण एकाएक कोलाहलमय भयो । विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर राईसहित सबै विद्यार्थीलाई बमबारुदको शक्तिको रबाफ देखाउँदै ज्यानको धम्की दिएर त्यो हुलले एउटा कक्षामा थुनिदियो । अनि, विद्यालयको देब्रेतिरको भवनमा बम विस्फोट गरायो ।
विद्यार्थी आत्तिन थाले । शिक्षकहरूले विद्यार्थीलाई सुरक्षित छौँ भनेर ढाडस दिने अवस्था भएन । त्यो विस्फोटको आवाज कलिला मस्तिष्कमा कति नराम्ररी बिझ्यो होला, को जानोस् ? उल्टै चेतावनी आयो,
‘भोलिदेखि स्कुल चल्यो भने आज पड्केको बमले स्कुल ध्वस्त बनाएझैँ तिमीहरूको अस्तित्व पनि…†’
सशस्त्र विद्रोहकालमा आफूले मच्चाएका यी र यस्ता ताण्डव मूलधारको राजनीतिमा पदार्पणपछि पदमा पुगेसँगै बिर्सिसके होलान् विद्रोहीले । तर, टासी लामाका हृदयमा अझै ताजा बनेर गडिरहेछ त्यो त्रासद क्षण । उनी हुन् सिन्धुपाल्चोकको हेलम्बुस्थित सेर्माथाङमा रहेको याङरिमा विद्यालयका निर्देशक, जहाँ २०५८ साल असारमा विद्रोहीले बम पड्काएका थिए, शिक्षक विद्यार्थीलाई अस्तित्व निमोठिदिने धम्की दिएका थिए ।
‘मान्छेले पहिले खोज्ने कुरा आफ्नो अस्तित्व हो । अस्तित्व नै नभए प्रगतिका बाटा खोज्ने कुनै उपाय नै फुर्दैन,’ तत्कालीन दृश्य सम्झँदै टासीले सुनाए ।
‘अंग्रेजी भाषा पढाएबापतको कारबाही रहेछ त्यो,’ विद्यालयका भूतपूर्व विद्यार्थीसमेत रहेका टासीले भने, ‘समुदायको पहलमा गरिएको अंग्रेजी पढाइ पनि उनीहरूलाई बुर्जुवा शिक्षा भएछ ।’ अन्तत: तरबारका अघि कलम तत्काललाई हार्‍यो । विद्यालयमा विद्यार्थी जान छोडे । शिक्षकले आफ्नो जीवन महत्त्वपूर्ण ठाने । विद्यालय बन्द भयो ।
०००
आठ वर्षपछि । विद्यालय पहिलेकै गतिमा छ । विद्यार्थी चौरमा खेल्दै छन् । स्कुलले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा स्थानीय संस्कृति झल्कने प्रस्तुतिहरू देखाउन व्यस्त छन्, केही विद्यार्थी । दुई हजार सात सय मिटर उचाइमा रहेको सेर्माथाङ जुगल हिमालको काखमा छ । हिमालको चिसो हावाले विद्यार्थीहरूको गालामा ताजगी थपिदिएको छ । वरिपरि लालीगुराँसको राताम्मे छ । मानौँ, विद्यालय सुन्दर फूलहरूको बीचमा थपक्क राखिएको हो । जुन शैक्षिक उद्यानमा विद्यार्थीहरू ज्ञानको जीवनज्योतिले मस्तिष्क चम्काउँदै छन् । शिक्षाको रसास्वादन गर्दै छन् । लाग्छ– यो वतावरणले उनीहरूलाई निष्फिक्री आफ्नो मस्तिष्कलाई सिकाइका लागि फराकिलो बनाउने मार्गप्रशस्त गरिदिएको छ ।
विद्यालयले द्वन्द्वकालमा भोगेको नियति अहिलेका विद्यार्थी पनि स्मरण गरिरहन्छन् । ‘यस विद्यालयको स्थापना सन् १९८५ मा भएको थियो । हाम्रा अभिभावकको सक्रियतामा विद्यालय हो । धेरै संघर्ष गरेर उहाँहरूले गुणस्तरीय शैक्षिक वातावरण बनाउनुभएको थियो । अंग्रेजी माध्यममा पढाइ हुने एउटा मात्रै सामुदयिक विद्यालय थियो ।’ विद्यालयको इतिहास सुनाउँदै जाँदा कक्षा ९ की छात्रा पासाङल्हामु शेर्पाले विद्यालयले भोग्नुपरेको द्वन्द्वको असर र पढ्ने अधिकारबाट वञ्चित भएको क्षण सम्झिन भुलिनन्, ‘सन् २००० असारमा माओवादीले बम पड्काएर विद्यालय बन्द गराइदिए । त्यसैको असर आठ वर्षसम्म हामीले भोग्नुपर्‍यो । हाम्रो गाउँमै पढ्ने अधिकार खोसियो ।’ स्कुलकै होस्टलमा बसेर पढिरहेकी पासाङलाई द्वन्द्वको मारमा परेको विद्यालयको अतीतले अझै पनि घोचिरहन्छ ।
०००
नेपालको हिमाली क्षेत्र अझै पनि शिक्षामा पछाडि छ । हेलम्बुमा पनि शिक्षाको सहज पहुँच नहुँदा विद्यार्थीलाई पढ्न टाढा जानुपर्ने बाध्यता थियो  । यही बाध्यता महसुस गरी स्थानीयले याङरिमा विद्यालय स्थापना गरेका हुन् ।  २२ वर्षअघि शेर्पा बस्ती रहेको शेर्माथाङ गाउँमा शिक्षाको महत्त्व बुझ्ने व्यक्ति निकै कम थिए । ‘त्यतिबेला विद्यालय स्थापना गरी सञ्चालन गर्न निकै चुनौतीपूर्ण थियो । तर, यसको महत्त्व बुझ्दै गएपछि स्थानीय स्तरबाट सहयोगहरू प्राप्त हुन थाल्यो । सुरुमा प्राथमिक तहसम्मको शैक्षिक सेवा दिएको विद्यालयले त्यसपश्चात भने निम्नमावि हँुदै माविसम्मको सेवा दिन थाल्यो ।’ विद्यालयका निर्देशक टासीले भने, ‘सदरमुकाम चौतारादेखि करिब ४६–४७ किलोमिटर टाढा शेर्माथाङ विकासको हिसाबले दुर्गम छ । तर, दुर्गम ठाउँमा स्थापित याङरिमा विद्यालय त्यस ग्रमाीण क्षेत्रमा शिक्षाको ज्योतिकेन्द्रकै रूपमा उभियो । वरपर अनि टाढाका गाउँबाट पनि बालबालिका यहाँ पढ्न आउँछन् ।’
माओवादीले बम विस्फोट गराइदिएपछि विद्यालयको प्रांगणलगायतका सम्पूर्ण भवन भग्नावशेष बने । गाईवस्तुको चरन क्षेत्र तथा जंगली जनावरको वासस्थान बन्यो शिक्षालय । पूरै अव्यवस्थित । गाउँका बालबालिकाको भविष्य अन्योलमा पर्‍यो ।
हेलम्बुका बालबालिकाको भविष्य सोच्दै याङरिमाका भूतपूर्व विद्यार्थीहरूले सन् २००३ मा भूतपूर्व विद्यार्थी समाज खोले, डा. छिरिङ लामाको अगुवाइमा । अन्तत: शिक्षाको महत्त्व बुझेका तिनै भूतपूर्व विद्यार्थीहरूले महत्वपूर्ण जिम्मेवारी सम्हालेर विद्यालयलाई पुन: सञ्चालन गरे । ‘अहिले विद्यालयमा एक सय ७५ जना विद्यार्थी छन् । १२ जना शिक्षकले पढाउँछन्,’ टासीले भने, ‘विदेशबाट आएका स्वयंसेवकले पनि पढाउने गर्छन् । अहिले छात्रावास पनि सञ्चालन गरेको छ ।’ विद्यालय हाताभित्रै अस्पताल पनि सञ्चालित छ । याङरिमा स्कुलका विद्यार्थीका लागि बीमाको समेत व्यवस्था गरिएको उनले बताए ।
आठ वर्षअघिझैँ निर्धक्क अध्ययन गर्छन्, याङरिमाका विद्यार्थी । टाढाटाढादेखिका विद्यार्थी आएर छात्रावासमै बसेर पनि पढ्ने गरेका छन् । उनका अनुसार याङरिमा बोर्डिङ स्कुलमा पढ्ने हरेक विद्यार्थीलाई अंग्रेजी भाषा, प्राथमिक उपचार, कम्प्युटरलगायतका सामान्य कुरा अनिवार्य सिकाइने गरिएको छ । स्थापनाकालदेखि हालसम्म यस संस्थाले हेलम्बु क्षेत्रका विद्यार्थीको निम्ति विभिन्न शीर्षकमा छात्रवृत्तिलगायत कम्प्युटर शिक्षाको सेवा पनि दिँदै आएको छ । याङरिमा शैक्षिक प्रतिष्ठान नाम दिएर शैक्षिक गुठीमार्फत अहिले विद्यालय सञ्चालन गरिएको पनि उनले बताए । माओवादीले बन्द गराउनुअघि एसएलसीका तीन ब्याच विद्यार्थी उत्तीर्ण गराएको यो विद्यालयबाट पुन:स्थापनापछि भने यसवर्ष मात्रै पहिलोचोटि विद्यार्थीले एसएलसी दिँदै छन् ।

प्रतिक्रिया