नौ अभिमुखीकरण संस्थामाथि कारबाही

labour-dpartmentकाठमाडौं, २९ जेठ । वैदेशिक रोजगारमा जाने कामदारका लागि अभिमुखीकरण तालिम दिने नौवटा अभिमुखीकरण सस्था वैदेशिक रोजगार विभागको कारबाहीमा परेका छन् ।
अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूले आफूले कति कामदारलाई तालिम दिँदै छु भनेर तालिम दिने अघिल्लो दिन उनीहरूको नामावली विभागमा दिनुपर्ने कानुनी व्यवस्था छ । उक्त नामअनुसार प्रशिक्षक दुवै दिन उपस्थित नभएको अस्थामा विभागले कारबाही गर्ने गरेको विभागका सूचना अधिकारी दिवस आचार्यले जानकारी दिए । उनले भने, ‘हामी अनुगमनका लागि दुई दिनमा जहिले पनि जान सक्छौ, अनुगमनमा जाँदा लिस्टमा भन्दा कम प्रशिक्षक भएको खण्डमा त्यस्ता संस्थालाई सातदिन निलम्बन गर्छौं ।’ उनीहरूले सात दिनसम्म कुनै पनि कक्षा सञ्चालन गर्न नपाउने पनि उनले बताए ।
हाल अभिमुखीकरण संस्थाले प्रशक्षिण दिइरहेकोमा दुई दिन अपुग रहेको छ । प्रशिक्षणका क्रममा कामदार एयरपोर्ट प्रवेश गर्दा के कुरामा ध्यान दिने, सम्बन्धित देशको हावापानी, रहनसहन, भाषा संस्कृति, मूल्यमान्यता, धर्म, बोलीचाली स्थानीय मानिसलाई गर्ने व्यवहार र आफू कसरी ठगिनबाट बच्नेलगायत कुरा सिकाइने गरिन्छ ।
यसरी प्रशिक्षण दिने संस्थामध्ये कारबाहीमा परेकामा एचआर मेटर्स एडुकेसन प्रालि सामाखुसी, श्रम ओरेन्टेसन, गोंगबु, अभिलाशा इन्स्टिच्युट फर प्रोफेसनल डेभलपमेन्ट प्रालि टोखा रोड, टिएस ट्रेनिङ सेन्टर प्रालि टोखा रोड, महाँकाली ओरेन्टेसन एन्ड स्किल डेभलपमेन्ट प्रालि गोंगबु, ओसियन टेक्निकल इन्स्टिच्युट प्रालि बसुन्धारा, एलमिरा ओरेन्टेसन बसुन्धारा, आरआर ओरेन्टेसन चक्रपथ, एनआइसिडी अ‍ेरेन्टेसन बसुन्धारा रहेका छन् । यस्ता तालिम दिन संस्थामा कुनैमा १०, कुनैमा १२ र कुनैमा वा ७ जना प्रशिक्षार्थी अपुगभएको विभागका सूचना अधिकारी आचार्यले बताए ।
विभागले कारबाही गर्नु ज्यादै राम्रो कुरा हो तर यो कारबाही अझै पुगेन, नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महांसघका अध्यक्ष पूर्णबहादुर मल्लले भने, ‘गल्ती भेटेको खण्डमा एक महिना निलम्बन मात्र होइन, त्यस्ता संस्थालाई खारेज गर्नेसमेत अधिकार विभागलाई छ । त्यसको सदुपयोग गरेको हाम्रो कुनै गुनासो छैन ।’ विभागले गर्ने गरेको कारबाही नाटकीय रूपमा देखीएको छ । यदि विभागले कामदारको हित चाहन्छ भने यो कारबाही अझै बढ्नुपर्छ ।
अभिमुखीकरण तालिम प्रदान नगर्ने संस्थाले वैदेशिक रोजगार ऐन २०६४ बमोजिम तालिम प्रदान गर्नुपर्छ । अध्यक्ष मल्लले भने, ‘पहिलो दिन कक्षामा ५० जना रहने र दोस्रो दिन कक्षामा २५/३० जना मात्र भएको खण्डमा कारबाही गर्नू स्वाभाविकै हो तर एक–दुई जना नआएको खण्डमा भने कारबाही गर्नु हुँदैन । उनीहरू कोही बिरामी परेर वा अन्य कारणले गर्दा पनि यो हुने गर्छ, यस विषयमा विभागले सोच्नु पर्छ । हाल राजधानीमा मात्र केन्द्रित भएको यस्तो तालिम चाँडै नै गाउँगाउँसम्म पुर्‍याउनेमा जोड दिँदै अध्यक्ष मल्लले भने, ‘हामीले यसभन्दा पहिला चितवन, पर्सा, महोत्तरी मोरङ जिल्लामा गैरसरकारी संस्थाको सहयोगमा तालिम दिएका थियौँ । चाँडै हामी अन्य जिल्लामा पनि जाँदै छौँ ।’ हाल राजधानीमा ५८ वटा संस्थाले अभिमुखीकरण प्रशिक्षण दिँदै आएका छन् । स्थानीय निकायमा भने कुनै पनि अभिमुखीकरण प्रशिक्षण संस्था छैनन् ।

प्रतिक्रिया